स्थानीय खबर संवाददाता
काठमाडौं, २ असार
काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार राष्ट्रिय सभागृहमा बसेको नगरसभामा महानगरका मेयर बिद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् ।
कार्यक्रम सार्वजनिक गर्दै शाक्यले भ्रष्टारमा शून्य शहनशीलता अपनाउने दाबी गरे । मेयरअन्तरगत अनुगमन इकाई गठन गर्ने, संघीय संरचनामा गए पछि महानगरलाई बुझाउने पर्ने सरकारी चलअचल सम्पतिको खोजी गर्ने, कार्यसम्पादनका आधारमा कर्मचारी सरुवा बढुवा गर्ने कार्यक्रममा उल्लेख छ । र सहरी सुशासनका लागी सूचनाप्रबिधीको भरपुर उपयोग गर्ने पनि उल्लेख छ ।

साथै आव ०७५/७६ लाई महानगर कर अभियानका रुपमा मनाउने पनि घोषणा गरेको छ । करदाताको लगत व्यवस्थित गर्ने, करदातालाई स्वेच्छिक रुपमा कर तिराउने, धेरै कर उठाउने वडालाई अनुदान पनि बढी दिने घोषणा गरेको छ । यसै गरि कर संकलनलाई डिजिटलाईज्ड गर्न ‘काठमाडौं स्र्माट ट्याक्स पेयर कार्ड’ लागू गराउने लक्ष्य राखेको छ ।
यसैगरि व्यवस्थित सहरीकरणका लागी स्मार्ट सिटीको पुरानै नारा दोहोर्याएको छ । महानगर भित्रका होटल, रेष्टुराँ, क्वब, सपिङ मलहरूलाई पनि प्रोत्साहन गर्ने, टोल सुधार समितिहरूलाई थप क्रियाशील गराउने, विद्युत र टेलिफोनको तार व्यवस्थित गर्ने पनि लक्ष्य राखेको छ ।
रानीपोखरी र काष्ठमण्डपको पुनर्निमाण, बसपार्क तथा सडकहरूको मर्मतसम्भार, सहायक सडकहरूमा ढुङ्गा, इँटा बिच्छ्याउने पनि कार्यक्रममा उल्लेख छ । नीजि र साना सवारी साधालाइृ निरुत्साहित गर्ने तथा केबलकार र मोनोरेल अध्ययन इकाई समेत गठन गर्नेछ ।
घरघरमै गएर बृद्धभत्ता दिने अहिलेको अभ्यासलाई निरन्तरता दिने र बृद्धबृद्धालाई पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा सम्मान गर्ने घोषणा गरेको छ । यसैगरि नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने ५ जनालाई गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान दिनेछ ।
यसबाहेक महानगरले सहकारी, शिक्षा व्यवस्थापन, स्वास्थ्य, सूचना तथा सञ्चार, वातावरण, विपद् व्यवस्थापन, अन्तराष्ट्रिय सम्बन्ध, कृषी तथा खाद्य, भवन मापदण्ड र सहरी योजना आयोग नीति पनि ल्याएको छ ।




प्रतिक्रिया