५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोटकाे पलाँता पूर्णखोपमुक्त गाउँपालिका घोषणा



 

२४ जेठ, कालीकोट ।
जिल्लाको अति दुर्गम गाउँपालिका मध्ये रहेको पलाँता पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको छ । बुधबार एक कार्यक्रमका बीचमा जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटको आयोजना तथा पलाँता गाउँपालिकाको समन्वयमा पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको हो ।

पलाँता गाउँपालिकाका साविकका गाविस खिन, थिर्पू र धोलागोहका सबै गाउँमा बालबालिकालाई खोपसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको र खोपभन्दा बाहिर कोही नभई सम्पूर्ण सहभागी गराइएकाले पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बमले जानकारी दिएका छन् ।

यसअघि पचालझरना गाउँपालिकालाई पनि पूर्णखोप युक्त गाउँपालिका घोषणा भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटका प्रमुख टंकप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा पूर्णखोपयुक्त गाउँपालिका घोषणा भएको छ ।

कार्यक्रममा बोल्दै आचार्यले पूर्णखोपलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने र त्यसमा जिल्ला स्वास्थ्य कार्यालयको सहयोग रहने बताए । उक्त कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान पनि गरिएको थियो ।

पलाँता गाउँपालिकाका दुई हजार सात घरधुरी रहेकोमा सात सय ५० बालबालिका खोपको पहुँचमा रहेको बताइएको छ । कार्यक्रमका अध्यक्ष लक्ष्मण बमले पलाँता गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्वास्थ्य, शिक्षा, सडक यातायात, विद्युत् र अन्य क्षेत्रको विकास गर्नका लागि सबैको दायित्व हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पलाँता गाउँपालिकाका अध्यक्ष बमले हरेक क्षेत्रमा काम गर्न सहयोग नपाएको गुनासो गर्दै घाँटी निमोठेर काम नहुने बताएका छन् । उनले काम गर्ने बेलामा तोक लगाएका कागजात टेबलमै रोकिने, सडक निर्माण गर्दा डोजर रोक्ने, खानेपानी निर्माणका लागि पाइप ल्याउँदा बीच बाटोमै रोक्ने गरेको आरोप पनि लगाएका छन् ।

अध्यक्ष बमले आफूले पलाँताका लागि निरन्तररुपमा लागिपर्ने बताउँदै आफूहरु समृद्धिका लागि अझै लागिपर्ने बताए ।
रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार ००:००