२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस उम्मेदवार छान्ने अन्तिम तयारीमा



काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि दलका तर्फबाट आधिकारिक उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जनाएको छ ।

पार्टीले प्रत्येक जिल्लामा पार्टीका क्षेत्रीय र जिल्ला कार्य समिति अन्तर्गतका संयन्त्रले उम्मेदवार चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कांग्रेसले यसअघि नै पार्टीका स्थानीय निकायमा संयन्त्र बनाई वैशाख ७ सम्म आफ्ना उम्मेदवारको टुंगो लगाउने निर्णय गरिसकेको छ ।

पार्टीले प्रत्येक जिल्लामा केन्द्रीय पदाधिकारी तथा सदस्य खटाई निर्वाचनका लागि पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार मनोनयनपत्र एक दुई दिनभित्र पठाइसक्ने जनाएको छ । खटिएका पदाधिकारीले सो पत्रमा दस्तखत गरी निर्वाचन आयोगमा बुझाएपछि मात्र पार्टीको आधिकारिक उम्मेदवारको टुंगो लाग्नेछ ।

मुलुकभर निर्वाचन हुने सबै पदका लागि तीन प्रतिका दरले र १० प्रतिशत थप गरी कुल एक लाख १५ हजार एक सय ६३ पत्र (प्रत्येकमा पार्टीको छाप लगाई) पठाउने काम सुरु भएको पार्टी कार्यालयका अधिकृत सूर्य भट्टराईले जानकारी दिए । वैशाख ४ गतेदेखि आधिकारिक मनोनयन पत्र पठाउन सुरु गरेको कांग्रेसले आजसम्म ५० प्रतिशत बढी जिल्लामा पठाइसकेको छ ।

तीन प्रतिमध्ये एक प्रति निर्वाचन आयोगलाई, एक उम्मेदवारलाई र एक कार्यालयको अभिलेखका लागि गरी तीन प्रति र केही बिग्रने सम्भावनालाई ध्यानमा राखी १० प्रतिशत थप पत्र पठाउन लागिएको अधिकृत भट्टराईले जानकारी दिए ।

आयोगले उम्मेदवारी मनोनयन दर्ता यही वैशाख १६ गतेदेखि हुने जनाएको छ । आयोगले निर्वाचनमा सात सय ४४ स्थानीय तहका लागि ३६ हजार ६ सय ३९ पदमा निर्वाचन गराउने तयारी अगाडि बढाएको छ ।

कांग्रेसले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुखमा पार्टीको आधिकारिक उम्मेदवारको मनोनयनपत्रमा पार्टी सभापतिको दस्तखत र बाँकी सबै पदमा केन्द्रीय पदाधिकारी तथा सदस्यको दस्तखत हुने निर्णय निर्वाचन आयोगलाई बुझाइसकेको छ ।

पार्टीका तर्फबाट ७५ जिल्लामा खटिएका पदाधिकारीमध्ये खुमबहादुर खड्का र केबी गुरुङ अश्वस्थताका कारण जिल्ला जान नसक्ने देखिएपछि डा. प्रकाशशरण महत र जीवनबहादुर शाहीलाई दुई–दुई जिल्लाको जिम्मेवारी दिइएको छ । बाँकी सबै जिल्लामा पदाधिकारी र सदस्य खटाइएको पार्टी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ६ बैशाख २०७४, बुधबार ००:००