१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षाको पूर्ण प्रत्याभूति हुनेछ, ढुक्क भएर काम गर्नुस्– प्रमुख निर्वाचन आयुक्त डा. यादव



काठमाण्डौं, ६ वैशाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन् ।

निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि बुधवार सञ्चालन गरिएको निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षणमा निर्वाचनमा खटिने सहभागीलाई उनले सो निर्देशन दिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, “पूर्ण विश्वासका साथ उच्च आत्मबल बनाएर स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पूरा गर्ने अठोट गर्नुस्, आयोग तपाईहरुको साथमा छ ।”

“निर्वाचनको वातावरण अनुकूल बन्दै गएको छ, कहीँ कतै समस्या देखियो भने खबर गर्नुस् आयोगको तत्कालै त्यहाँ उपस्थिति हुनेछ, सुरक्षाको पूर्ण प्रत्याभूति भएको हुँदा ढुक्क भएर काम गर्नुस्,” उनले भने ।

‘‘संविधान कार्यान्वयन र लोकतन्त्रको स्थायित्वको सन्दर्भमा आधारशीलाको रुपमा रहेको २०७४ वैशाख ३१ आइतबार हुने ७४४ स्थानीय तहको निर्वाचन नयाँ खाले जिम्मेवारी भएकाले त्यो गर्नु भनेको राष्ट्रको लागि ठूलो योगदान हो,” प्रमुख निर्वाच आयुक्त यादवले भने ।

आयोगका सचिव गोपीनाथ मैनालीले लोकतन्त्र संस्थागत र स्थानीय तह बलियो बनाउन, हुन लागेको निर्वाचनको महाअभियानको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नु भनेको हाम्रा लागि ठूलो अवसर हो भन्ने ढंगबाट कर्तव्य पूरा गर्न आवश्यक रहेको बताए ।

आयोगका सहसचिव नवराज ढकालले सिँहदरबारको अधिकारलाई टोलटोलमा पुर्याउने उत्सवको रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको बताए ।

विगतका तालिममा उपस्थित हुन नसकेका, जगेडामा रहेका तथा नयाँ नियुक्ति भएका निर्वाचन अधिकृतका लागि सञ्चालित एकदिने प्रशिक्षणमा २८ जना सहभागी रहेको आयोगले जनाएको छ ।

प्रशिक्षणमा निर्वाचन कानुन, नियमावली, निर्देशिका, निर्वाचन सञ्चालन गर्ने विधि र प्रक्रिया, मतगणनालगायतका विषय समावेस छन् । रासस

प्रकाशित मिति : ६ बैशाख २०७४, बुधबार ००:००