८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर र उपमेयरको उम्मेदवार बन्न कार्ययोजना अनिवार्य



खोटाङ, ५ वैशाख । स्थानीय तहको चुनाव नजिकिए संगै उम्मेदवार छनोट गर्न दलहरुभित्र आन्तरिक छलफल तीव्र भएको छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेदवार छान्न दलहरु आन्तरिक तयारीमा जुटेका छन् ।

यही क्रममा नेकपा (एमाले) खोटाङले रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा दाबी गर्ने उम्मेदवारले अनिवार्य कार्ययोजना पेस गर्नुपर्ने मापदण्ड बनाएको छ । भावी मेयर र उपमेयरले सिंगो नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिक परिवर्तन गर्ने दक्षता राख्नुपर्ने भएकाले उम्मेदवारको क्षमता पहिचान एवं योग्य व्यक्ति छान्नका लागि छुट्टै मापदण्ड बनाइएको जिल्ला अध्यक्ष बबी चाम्लिङले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सदरमुकाम दिक्तेलमा रहेको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवार छान्न आइतबारदेखि सुरु गरिएको बैठकमा मेयर र उपमेयरमा दाबी गर्ने हरेक उम्मेदवारलाई तीन–तीन मिनेटको कार्ययोजना पेस गर्न लगाइएको छ । रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका लागि नौजना र उपमेयरका लागि सातजना आकांक्षी देखिएका छन् ।

मेयरमा महिलाका तर्फबाट उम्मेदवारी नै नपरेको एमाले श्रोतले जनायो । मेयर र उपमेयरका आकांक्षीले नगरपालिकाको आर्थिक, सामाजिक, राजनीतिक र भौतिक क्षेत्रमा परिवर्तन गर्न सकिने सम्भावना सहितको कार्ययोजना बारेमा प्रतिबद्धता जनाउँदै उम्मेदवारका रुपमा दाबी गरेका छन् ।

एमाले नगर कमिटीको निर्णयअनुसार आकांक्षीहरूबाट नगरपालिकाको परिवर्तनका सवालमा पाँच वर्षभित्र गर्न सकिने र बहुवर्षीय कार्ययोजना माग गरिएको हो । “मेयर र उपमेयरको उम्मेदवार बन्छु भनेरमात्र हुँदैन,” अध्यक्ष चाम्लिङले भने, “उम्मेदवार जोसुकै छानियोस् तर, मेरो नगरपालिकालाई यस्तो बनाउँछु भन्ने योजना चाहिन्छ, त्यही भएर भिजन पेस गर्न लगाइएको हो ।”

मेयर र उपमेयरका आकांक्षीहरूबाट रुपाकोट मझुवागढीमा रिङरोड निर्माण, स्वर्ण रुपाकोट मझुवागढी चक्रपथ निर्माण, नमुना नगरपालिका, उद्योगको स्थापनालगायतका कार्ययोजना पेस भएको स्रोतले जनाएको छ ।

मेयरका लागि देवविक्रम राई, कुमार आचार्य, दीपनारायण रिजाल, जलशेर राई, वीरबलकाजी राई, भागवत घिमिरे, उपिनकुमार राई, गोपालचन्द्र आचार्य र रमेश परियारले दाबी गरेका छन् ।

उपमेयरमा बिनादेवी राई, अनिशा खनाल, सङ्गीता राई, पूर्णकला तामाङ, गोमा खत्री, गङ्गारेखा राई र निर्मला आचार्यले दाबी गरेका छन् ।

यस नगरपालिकामा अन्य पार्टीका उम्मेदवारको पनि टुङ्गो लागेको छैन । सबै दलले सहमतिका आधारमा वैशाख ७ गतेभित्र उम्मेदवार टुङ्गो लगाउने जनाए पनि आकांक्षीहरूको सङ्ख्या धेरै देखिएको छ । रासस

प्रकाशित मिति : ५ बैशाख २०७४, मंगलबार ००:००