२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठेक्का लगाइएका मध्ये अधिकांश पक्की पुल अलपत्र



 

८ जेठ, इटहरी ।
सरकारले पूर्वी नेपालका विभिन्न स्थानका मुख्य सडक तथा त्यस आसपासका सहायक मार्गका खोलाखोल्सीमा निर्माण गर्दै आएका पक्की पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीले मर्का भोग्नु परिरहेको छ ।

सडक विभाग र सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरीअन्तर्गत ठेक्का लगाइएका पक्की पुलमध्ये अधिकांश अधूरो नै छाडिएको जनताको गुनासो छ । पुल निर्माण आयोजनाका अनुसार यी दुई जिल्लामा पर्ने स्थानीय सडकमा सानाठूला गरी २ करोडदेखि १४ करोड लागतसम्मका ३७ पक्की पुल बोलपत्र आह्वानसँगै स्वीकृत भएर निर्माण कम्पनीमार्फत निर्माण थालिएका हुन् ।

यी पक्की पुल सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने शर्तमा निर्माण ठेक्का लागेका हुन् । ठेकेदार कम्पनीमार्फत निर्माण थालिएका यी अधिकांश पक्की पुल निर्माण गरिसक्नुपर्ने समय गुज्रिए पनि सम्पन्न हुने छेकछन्द समेत नदेखिने गरेको पुल निर्माण क्षेत्रका स्थानीयवासी सेवग्राहीको भनाइ छ ।

सुनसरी मोरङ पुल निर्माणसम्बन्धी आयोजनाले धेरै पुल पुराना आर्थिक वर्षमा ठेक्का लागेका र केही भने १५ वर्षअघि ठेक्का लागेर निर्माण नभई अधूरो अवस्थामा रहेको पनि स्वीकार गरेको छ ।

आयोजनाले चालु आर्थिक वर्षमा मात्र १५ साना तथा ठूला पुल निर्माणको ठेक्का लागेर निर्माणको काम अघि बढाइएको आयोजनाले जानकारी दिँदै ती पुलमध्ये धेरै तोकिएको समयमा निर्माण पूरा हुन सक्ने सम्भावना कम रहेको बताएको छ ।

आयोजनाका अनुसार चालु आर्थिक वर्षका लागि पुल निर्माण गर्न सडक विभागबाट दुई पटक गरी १५ करोड ६० लाख निकासा भएको छ । अहिले पुल निर्माणको काम गरिरहेका र बिल पेश गरेका ठेकेदारलाई धेरै रकम भुक्तानी गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । विभागबाट सानो आकारमा बजेट निकासा भएकाले पुल निर्माणको काम प्रभावित हुने गरेको आयोजनाको भनाइ छ ।
रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलबार ००:००