२३ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चकन्या खुला दिशामुक्त र पूर्ण खोपयुक्त गाउँपालिका



६ जेठ, नुवाकोट ।
यहाँको नवौँ स्थानीय तहका रुपमा शनिबार पञ्चकन्या गाउँपालिकालाई खुला दिशामुक्त तथा पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाको पाँचवटा वडामा रहेका तीन हजार ८४० परिवारमध्ये करीब ९९ प्रतिशत घरमा पक्की शौचालय निर्माण भएसँगै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले कालिका माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममार्फत पञ्चकन्या गाउँपालिका खुला दिशामुक्त क्षेत्र भएको घोषणा गरेका हुन् ।

गाउँपालिकाभित्र भर्खर दुई वर्ष उमेर पूरा गरेका २६८ जना बालबालिका सबैले आवश्यक ११ प्रकारका खोप लिएकाले पूर्ण खोपयुक्त गाउँपालिकासमेत भएको सांसद तामाङले घोषणा गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनालीले विनाशकारी भूकम्पले आवास निर्माणको प्रक्रियामा रहेका परिवारले समेत सरसफाइलाई ख्याल गर्दै शौचालय निर्माण गरी सभ्य समाजको स्थापना गर्न पु¥याएको सहयोगको प्रशंसा गरे ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले खुला दिशामुक्त क्षेत्र घोषणालाई कार्यान्वयन गरी दिगोरुपमा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्वच्छ खानेपानी, बालबालिकामा पूर्णखोपयुक्त पहुँचलाई निरन्तर कायम राख्न सुझाब दिए ।

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले शिक्षाको पहुँचमा सबैलाई समावेश गरी सफा र स्वस्थ्य गाउँपालिका निर्माण गर्ने चाहना खुला दिशामुक्त र पूर्ण खोपयुक्त क्षेत्रलाई निरन्तर सफल रुपमा कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा जिससका उपप्रमुख अप्सरा थापा, गाउँपालिका उपाध्यक्ष सीता खड्का, स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारी, खोप अधिकृत अमृत महर्जन, गाउँपालिकामा रहेका पाँचवटै वडाका वडाध्यक्षहरु, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविका, राजनीतिक दलका प्रतिनिधि, शिक्षक एवं विद्यार्थी सहभागी भएर चेतनामूलक झाँकी तथा ¥याली प्रस्तुत गरिएको थियो ।

यहाँका बाह्रमध्ये बाँकी तीन स्थानीय तहलाई पनि आगामी साताभित्रै खुला दिशामुक्त क्षेत्र घोषणा गरी सिङ्गो जिल्ला दिशामुक्त घोषणा गर्ने सरकारी लक्ष्य छ ।
रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७५, आइतबार ००:००