६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पासाङ ल्हामु गाउँपालिकाको मासिक आम्दानी १ करोड भन्दा बढी



३ जेठ, सल्लेरी– सोलुखुम्बु ।
टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा ८ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।

गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म ८ करोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए ।

यो अवधिमा ४१ हजार १७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी १ करोडभन्दा बढी देखिन्छ । नेपाल पर्यटन बोर्डले टिम्स कार्ड (पदयात्री व्यवस्थापन प्रणाली) वितरण गरिरहेको भएपनि त्यसलाई पूर्णनिषेध गर्दै गाउँपालिकाले पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको हो । गाउँपालिकाले स्टेशननै खडा गरेर खुम्बु प्रवेश गर्ने प्रतिपर्यटक दुई हजार प्रवेश शुल्क संकलन गर्ने गरेको छ ।

गाउँपालिकाको तथ्याँकअनुसार अक्टोबर महिनामा सात हजार १२ जनाबाट एक करोड ४० लाख ३५ हजार, नोभेम्बर महिनामा सात हजार ४१२ जनाबाट एक करोड ४० लाख ३५ हजार राजश्व संकलन भएको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिए ।

यस्तै, डिसेम्बर महिनामा २ हजार ४१७ पर्यटकबाट ४८ लाख ३४ हजार, जनवरीमा एक हजार पाँच पर्यटकबाट २० लाख १० हजार, फेब्रुअरीमा एक हजार ५६२ पर्यटकबाट ३१ लाख २४ हजार, मार्च महिनामा छ हजार ७४७ पर्यटकबाट एक करोड ३४ लाख ९४ हजार र अप्रिलमा १० हजार २६४ पर्यटकबाट दुई करोड ५२ लाख आठ हजार राजश्व जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन बोर्डले टिम्स कार्ड वितरण गरेर करोडौँ राजश्व संकलन गरेपनि खुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धनमा चासो नदिएको भन्दै गाउँपालिकाले टिम्स कार्डनै निषेध गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । पर्यटन बोर्डले भने गाउँपालिकाले टिम्स कार्ड निषेध गरेर प्रवेश शुल्क लिनु गैरकानूनी रहेको जनाउँदै आएको छ ।
रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहिबार ००:००