२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुक्तिनाथ जाने वैकल्पिक सडक मार्गः तीन वर्षदेखि कालोपत्रेको काम अलपत्र



३१ वैशाख, फलेवास– पर्वत ।
पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन ।

पर्वतको कुश्मा नगरपालिका–२ छमर्केको घुम्तीदेखि लाम्पाटा–हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम शुरु भएको घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका–८ को दम्भाखोलामा जोड्ने योजना थियो ।

योजनाअनुसार पोखरा–मालढुंगा–बेनी सडकको वैकल्पिक मार्गका रूपमा यो सडकलाई डबल लेनको बनाउने स्टिमेट सडक डिभिजन कार्यालयले गरेको थियो  ।

डबल लेनको सडकको १२ मिटर कालोपत्रे, तीन तीन मिटर सेड–ब्याक, दुईतर्फी नाली, कुश्मा–२ खुर्कोटको रिठेखोलामा पक्की पुल र अन्य ससाना खोल्सामा कल्भर्ट राख्ने योजना थियो  । बहुवर्षे ठेक्का स्वीकृत भएको उक्त योजनालाई बागलुङको सडक डिभिजन कार्यालयले ठेक्का पनि लगायो ।

तर, तत्कालीन ठेकेदार डिबी तामाङले थोरै काम थालेर छाडे पछि हालसम्म योजनामा प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन डिभिजन कार्यालयले तदारुकता नदेखाएको स्थानीयको गुनासो छ । योजनाअनुसार बहुवर्षे ठेक्का स्वीकृत गराएर उतिबेलै ११ करोड बजेट विनियोजन भएको थियो ।

२२ किलोमिटर कालोपत्रे गर्न ५९ करोडको स्टिमेट थियो । ११ करोड बजेट छुट्टिएपछि काम पनि शुरु भएको थियो । गत वर्ष उक्त सडकका लागि ४८ करोड स्वीकृत भएको पूर्वसांसद अर्जुनप्रसाद जोशीले जानकारी दिए ।

कालोपत्रे गर्न भन्दै पुरानो ट्रयाक भत्काएपछि हिउँदका केही महिना चल्ने सडकमा दुई वर्षयता यातायात आवगमन ठप्प जस्तै छ  । ढुंगा र गिट्टीले पुरानो सडक पुरिएपछि यतिबेला पैदलयात्रीलाई हिँड्न पनि असहज छ  ।

सडक कालोपत्रे हुने भएपछि स्थानीय सरोकारवालाको पहलमा दुई वर्षअघि रिठे खोलामा पुलको योजना प¥यो  । योजनाअनुसार पुलको काम शुरु भएको छ । खुर्कोटकै व्यवसायी राजु पौडेलले जिम्मा लिएको पुल आगामी असार मसान्तसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ ।

डिभिजन प्रमुख थानेश्वर खत्रीका अनुसार यो वर्ष धेरै क्षेत्रीय सडकमा स्वीकृत बजेट सरकारले कटौती गर्दा पर्वतसहित धौलागिरिका अन्य सडकको काम पनि अघि बढ्न नसकेको हो ।
रासस

प्रकाशित मिति : ३१ बैशाख २०७५, सोमबार ००:००