२९ बैशाख, दाङ । यहाँ गाउँपालिका र नगरपालिकाहरूमा कर्मचारीको अभाव देखिएको छ । जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन छन् । कतिपय स्थानमा एकजना सचिवले २ वटा वडा हेर्दै आएका छन् ।
यसले गर्दा स्थानीयवासीले सहजरुपमा वडाबाट सेवा पाउन सकेका छैनन् । सचिव नभए पछि स्थानीयबासीले आफ्नो वडाबाट सेवा पाउन पटक पटक धाउनु पर्ने बाध्यता छ ।
एकजना सचिव भेटाउन करीब साता दिन धाउनुपर्ने र कामका लागि महिना दिनसम्म पनि लाग्ने गरेको स्थानयिवासीको गुनासो छ । यसले उनीहरूलाई परिवर्तनको प्रत्याभूतिको साटो झनै समस्या थापिएको छ ।
केही कर्मचारीलाई व्यवस्थापन गरिए पनि जिल्लाका अधिकांश स्थानीय तहमा समस्या देखिएको जिल्ला समन्वय अधिकारी कृष्ण गौतमले बताउँछन् ।
“जिल्लामा आएका कर्मचारीलाई स्थानीय तहको आवश्यकतानुसार व्यवस्थापन गरिरहेका छौँ,” गौतमले भने, “तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको छ ।”
घोराही र तुलसीपुर उपमहानगरपालिकाबाहेक जिल्लाका सबै स्थानीय तहमा कर्मचारी अभाव छ । “जिल्लामा करीब ३० देखि ४० जनासम्म वडा सचिवको आवश्यक देखिएको छ, । त्यत्तिकै मात्रमा अन्य दरबन्दीको कर्मचारीको पनि अभाव छ,” गौतमले भने, “जिल्लामा कर्मचारी छैनन्, मन्त्रालयले कर्मचारी पठाउँदैन ।”
जिल्लाका बंगलाचुली, राजपुर, गढवा, बबई, दंगीशरण, शान्तिनगर गाउँपालिकालगायतका स्थानीय तहमा कर्मचारीको अभाव छ ।
देउखुरी राजपुर गाउँपालिकाका वडा नंं १, २ र ३ को काम एकै सचिव मेघसिंङ पछाइले हेर्दै आएका छन् । साविकको बेला गाविसअन्तर्गत रहेका तीन वडाको सम्पूर्ण काम आफूले विगत असार महिनादेखि हेर्दै आएको सचिव पछाईले बताए ।
राजपुर गाउँपालिकामा ८ वडा रहेका छन्, जहाँ अहिले २ जना मात्रै सचिव कार्यरत छन् । वडा सचिव नहुँदा लेखापाल तथा प्रविधिकले काम गर्ने गरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसी बताउँछन् ।
त्यस्तै, गढवा गाउँपालिकामा पनि ८ मध्ये अहिले २ वडामा मात्र सचिव छन् । बाँकी ६ वटा वडामा लेखापाल तथा प्रविधिकले सचिवको काम गरिरहेका छन् । रासस






प्रतिक्रिया