१४ चैत्र २०८०, बुधबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरि गाउँपालिकाको गुर्जा तातोपानी कुण्डमा पूर्वाधार निर्माण



२९ वैशाख, बाबियाचौर– म्याग्दी ।
धौलागिरि गाउँपालिका एक गुर्जा र ४ नम्बर वडा मुदीको सीमा क्षेत्रमा पर्ने खरिबासमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ ।

तातोपानीको संरक्षण र पर्यटन विकासका लागि गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयबासीले श्रमदान गरेर पूर्वाधार निर्माण गरेका हुन् । गुर्जा खोलाको किनार र पहाडको फेदीमा रहेको मुहानबाट प्राकृतिकरुपमा निस्कने तातोपानीलाई संकलन गरी स्नानका लागि पोखरी बनाइएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

करीब १० मिटर लम्बाइ, पाँच मिटर चौडाइ र एक मिटर गहिराइको पक्की पोखरी बनाइएको हो । पोखरीमा एक पटकमा कम्तीमा ३५ जनासम्मले स्नान गर्न सक्ने क्षमता रहेको छ । स्नान तथा भ्रमणका लागि पुग्ने सर्वसाधारण र पर्यटकको सुविधाका लागि दुई वटा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको छ ।

अस्थायी टहरा हालेर बसोबास गर्ने व्यवस्थाका लागि भिरालो पाखोलाई सम्याइएको छ । गुर्जा गाउँदेखि मुहानसम्म जाने व्यवस्थित पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको ११ लाख अनुदान र स्थानीयवासीको ३ लाखभन्दा बढीको श्रमदानमा पूर्वाधार निर्माण भएको हो । प्राकृतिकरुपमा नूनिलो स्वादको ५० डिग्रीभन्दा बढी तातो पानी निस्कने मुहान रहेको छ ।

गुर्जा र मुदीदेखि ४ घण्टा पैदल यात्रा गरेपछि तातोपानीको मुहान रहेको ठाउँमा पुग्न सकिन्छ । भौगोलिक विकटता, पूर्वाधारको कमी र प्रचारप्रसारको अभावमा ओझेलमा परेको तातोपानी कुण्डलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष छन्त्यालले बताए ।

सो तातोपानीलाई स्थानीयवासीले अस्थायी पोखरीमा संकलन गरेर स्नान गर्दै आएका थिए । वार्षिक १५० जनाको हाराहारीमा मानिस तातोपानी स्नानका लागि जाने गरेका छन् । तातोपानीमा स्नान गरेपछि हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, चोटपटक लागेको जस्ता स्वास्थ्य समस्या निको हुने गरेको स्थानीयवासी बताउँछन् ।
रासस

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार ००:००