२८ वैशाख, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोटको आस्का गाउँमा ताले खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ ।
गाउँपालिकाद्वारा सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत २७ लाखभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट २८ घरका १९१ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जुद्धबहादुर खत्रीले जानकारी दिए ।
निजी धारा जडान गरेर घरघरमा खानेपानी वितरण गरिएको छ । २०४० सालमा निर्माण भएको आयोजनाको सार्वजनिक धारामार्फत स्थानीयबासीले खानेपानी उपभोग गर्दै आएका थिए । आयोजना निर्माण भएपछि सहज र सुविधा भएको स्थानीयवासी दिलमती सुनारले बताए ।
आयोजना निर्माणका लागि २८ घरधुरीले ९० दिनका दरले श्रमदान गरेका थिए । आयोजनाको बिहीबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गरे ।
साबिकको ओखरबोट गाविसमा २ करोड ८५ लाख लागतका छ वटा खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेको उनले बताए । निजी धारा जडान गरेर घरघरमा खानेपानी वितरण गरिने वडाध्यक्ष दिलीप शेरचनले बताए ।
रासस
प्रतिक्रिया