७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनको आन्तरिक तयारीमा जुट्दैछन् ठूला दलहरू



धनुषा । आसन्न स्थानीय तह चुनावका लागि प्रमुख दलले आन्तरिक तयारीमा जुटेका छन् ।

स्थानीय तहको चुनाव यही वैशाख ३१ गर्ने घोषणा भएको छ । तर अहिलेसम्म प्रदेश नं– २ मा चुनावी चहलपहल प्रायः शून्य देखिए पनि प्रमुख ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले आन्तरिक तयारी थालेका छन् ।

ती दलहरुमा जनकपुर उपमहानगरपालिकाको प्रमुख, उपप्रमुखलगायत पदका लागि को्–को उम्मेदवार हुने चर्चा परिचर्र्चा हुनथालेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्रबाट उपमहानगरपालिकाको प्रमुख एव्म उपप्रमुख पदका लागि धेरै आकांक्षी देखापर्न थालेका छन् ।

कांग्रेसबाट नगर प्रमुखमा चन्दन कौशिक, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष श्याम साह, निर्मल चौधरी, पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साह, जीवनाथ चौधरी, श्रीराम साह, मनोज साह लगायत चर्चामा रहेको कांग्रेस धनुषाका सभापति रामसरोज यादवले बताए ।

यस्तै एमालेबाट पार्टीका जनकपुर नगर संयोजक सुरेन्द्र राय, उमेश साह, सञ्जीव झा, सांसद शीतल झा, प्रिति गुप्ता, राधारानी साह र जुली महासेठ लगायतको नाम नगर प्रमुख पदका लागि चर्चामा रहेको एमाले धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवले बताए ।

नगरप्रमुख पदका लागि नेकपा माओवादी (केन्द्र)बाट लालबाबु झा, फुलगेन्द्रप्रसाद साह र कामेश्वर महतो आकांक्षी देखिएका छन् । यी उम्मेदवारको नाम चर्चामा रहेपनि ती पार्टीले अहिलेसम्म कसैको नाम टुङ्गो लगाएको छैन ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डलले प्रदेश नं– २ मा स्थानीय निर्वाचन हुने पक्का नहुेन्जलसम्म उम्मेदवार छनोट भन्दा बढी पार्टीलाई हरेक वडा र टोलमा साङ्गठनिक संरचना मुजबुत पार्ने दाबी गरे ।

पार्टीे सङ्गठन निर्माण, निर्वाचन परिचालन समिति, बुथ कमिटी र स्थानीयस्तरबाटै उम्मेद्वार समेत छनोट गर्नका लागि उम्मेद्वार चयन समितिजस्ता संरचनाहरू बनाइरहेको बताए ।

वि.सं २०१६ सालमा नगरपालिका भएको जनकपुरलाई सरकारले २०७१ साल मङ्सिर १६ गते उपमहानगरपालिका बनाएको थियो । उपमहानगरपालिकामा बनेपछि धनुषाका कुर्था, बसबिटिटी, बिन्धी, महुवा, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, तथा कनकपट्टी गाविसलाई समावेश गरी अहिले २४ वडा विस्तार गरिएको छ ।

कुल एक लाख ५३ हजार ६१४ जनसङ्ख्या रहेको जनकपुर उपमहानगरपालिकामा झन्डै ८० हजार मतदाता रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ । रासस

प्रकाशित मिति : २ बैशाख २०७४, शनिबार ००:००