१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परासीमा निर्वाचनको चहलपहल



नवलपरासी । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् ।

ठूला तथा साना दलहरू गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखलगायतका उम्मेदवार छनोटको तयारीमा जुटेका छन् ।

चुनावको मिति नजिकिँदै जाँदा दलहरूले एकातिर उम्मेद्वार चयन गरिरहेका छन् । अर्कोतिर विभिन्न कार्यक्रममार्फत पार्टीका नेता र त्यसका सम्भावित उम्मेद्वाहरूले मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् ।

सदरमुकाम परासीको मुख्य आकर्षण केन्द्र बनेको रामग्राम नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र) र मधेसी मार्चाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनमा भाग नलिने बताउँदै आएको मोर्चाले संविधान संशोधन भए साझा उम्मेद्वार उठाउने संभावना छ ।

साना दलहरुले पनि सकभर मोर्चाबन्दी वा मिलेर साझा उम्मेद्वार उठाउने योजनामा छन् । रामग्राम नगरपालिकामा मतदाताको माझमा लोकप्रिय, स्वच्छ छवि र निर्वाचित भएपछि जनताको पक्षमा काम गर्नसक्ने खालका उम्मेदवार छान्ने कसरतमा दलहरू जुटेका छन् ।

यो नगरपालिकाको प्रमुख पदका लागि विभिन्न दलबाट करिब एक दर्जन आकांक्षी देखिएका छन् । काग्रेसबाट नरेन्द्रकुमार गुप्ता, विक्रम यादव , शिवशंकरप्रसाद राय र वैजनाथ जयसवाल चर्चामा छन् ।

नगरप्रमुख पदमा एमालेबाट वीरेन्द्र यादव र दीपेन्द्र यादव तथा माओवादी केन्द्रबाट बुद्धन अलिको चर्चा छ । संविधान संशोधन भएर निर्वाचनमा सहभागी हुने वातावरण आएमा मधेसी मोर्चाको साझा उम्मेद्वार सत्रजित यादवलाई नगरप्रमुखका रुपमा अघि सार्ने चर्चा छ ।

१२८.३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको रामग्राम नगरपालिकामा ५९ हजार ४५५ जनसङ्ख्या छ । ६ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा अहिले ७ नगरपालिका र ८ गाउँपालिका छ । ३ लाख ६९ हजार ८९४ मतदाताका लागि जिल्लामा २ सय ३२ मतदानस्थल र ४ सय ८७ मतदान केन्द्रको व्यवस्था गरिएको छ । निर्वाचनका लागि नवलपरासीमा ३२ राजनीतिक दल दर्ता भएका छन् । रासस

प्रकाशित मिति : २ बैशाख २०७४, शनिबार ००:००