१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलित महिला उम्मेद्वार पाउनै मुस्किल



सोलुखुम्बु । आगमी बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागी सोलुखुम्बुमा दलित उम्मेद्वार पाउनै मुस्किल भएको छ ।

प्रत्येक वडामा एक महिला सदस्य अनिवार्य गरिएको हुँदा दलित महिला उम्मेद्वार स्वःस्फूर्त पाउन मुस्किल भएको एमाले जिल्ला अध्यक्ष एमाले अध्यक्ष मानवीर राईले बताए ।

“अरू पदाधिकारीहरूमा चर्को प्रतिस्पर्धा छ । तर दलित महिलाका लागी रहेको सदस्यमा उम्मेद्वार पाउनै मुस्किल छ,” राईले भने । उम्मेदवार छनोटका क्रममा दलित महिलाबाहेक अन्य पदका लागि आकाङ्क्षी धेरै हुँदा समस्या भएको विभिन्न दलको भनाइ छ ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका राजनीतिक दलहरू उम्मेदवार छनोट र प्रचारप्रसारमा व्यस्त छन् । जिल्ला निर्वाचन कार्यालयमा ११ दल दर्ता भए पनि नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

जिल्लामा एक नगरपालिकासहित आठ स्थानीय तहमा निर्वाचन हुँदैछ । चारवटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको टुङ्गो लगाइसकेको माओवादी केन्द्रले वैशाखको पहिलो साताभित्र वडासहितको उम्मेदवारको नामावली सार्वजनिक गर्ने पार्टी जिल्ला संयोजक हेमकुमार राईले बताए । प्रचारप्रसारलाई तीव्रता दिएको माओवादी केन्द्रले पनि प्रत्येक गाउँतहमा भेला तथा अन्तरक्रिया गरिरहेको छ ।

प्रचारप्रसारमा व्यस्त देखिने नेपाली कांग्रेसले आन्तरिक छलफललाई तीव्रता दिएको छ । वडा समन्वय समितिमार्फत वडाको उम्मेद्वार, गाउँपालिका समन्वय समितिमार्फत गाउँपालिकाको उम्मेद्वार र नगरपालिका समन्वय समितिमार्फत नगरपालिकाको उम्मेद्वा्र टुङ्गो लगाउने गरी छलफललाई अगाडि बढाइएको छ ।

कांग्रेस सभापति विनोदबाबु बस्नेतका अनुसार कांग्रेसले वैशाख ४ देखि ७ गतेसम्म सम्पूर्ण उम्मेदवारको टुङ्गो लगाउने छ । साविकको वडालाई आधार मानेर टोल कमिटी गठन गरेको एमालेले टोलस्तरमा अन्तरक्रिया तथा छलफल गरी उम्मेद्वारको छनोटलाई तीव्रता दिएको छ ।

यसैक्रममा एउटा गाउँपालिकाको उम्मेदवार भने टुङ्गो लगाएको छ । पार्टीले आगामी वैशाख ७ गतेसम्म सम्पूर्ण उम्मेदवार तोक्ने प्रचारप्रसार सचिव जगनाथ बास्तोलाले जानकारी दिए । यसैबीच, जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले बिहीबारदेखि जिल्लाभर मतदाता शिक्षाका लागि ११९ जना मतदाता शिक्षा स्वयम्सेवक खटाउन सुरु गरेको छ । रासस

प्रकाशित मिति : १ बैशाख २०७४, शुक्रबार ००:००