२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्धिका लागि नागरिकसँगै रहेर सकार्य गर्छुः प्रमुख शाक्य



१७ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कामपाको समृद्धिका लागि नागरिकसंगै रहेर सहकार्य गर्ने बताएका छन् । कामपाको वडा नं १४ ले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा कामपाका प्रमुख शाक्यले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताएका हुन् ।

शाक्यले भने, “नगरको विकास नागरिकका लागि हो त्यसैले कामपाको सबै विकासमा नागरिक सहभागी हुन आवश्यक छ ।” त्यस्तै कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ ले नगरवासीको अपेक्षा एकीकृत विकास रहेकाले सोहीअनुरुप विकासको काम गरिने बताइन् ।

वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले वडामा भएका २२ वटाभन्दा बढी टोल विकास समूहसंगको सहकार्यमा बाटोमा ब्लक छाप्ने, ढुङ्गा बिछ्याउने, मंगल निर्माण गर्ने, इनार सफा गर्ने, आरसिसी ढलान गर्ने, सडक पिच गर्ने काम सम्पन्न गरिएको जानकारी दिइन् ।

कलंकी चोकको व्यवस्थापन, बजार र उद्योगधन्धाको तथ्याङ्क संकलन, पार्किङस्थलको पहिचान र व्यवस्थापन, बल्खु खोला करिडोर निर्माण, सार्वजनिक शौचालय निर्माण जस्ता काम तत्कालको योजनामा रहेको सापकोटाले बताइन् ।

कार्यक्रममा सहभागीले भूकम्पीय क्षति न्यूनीकरणका लागि सचेतना अभियान, दुर्व्यसन न्यूनीकरण तथा सुधार केन्द्रको स्थापना, खाद्य वस्तुको गुणस्तर मापन, पाटीपौवाको संरक्षणजस्ता काम पनि वडाले गर्नुपर्ने माग गरेका थिए ।
रासस

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ००:००