१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुक्यो



प्रकाश धौलाकोटी
१६ वैशाख, तेह्रथुम ।
जिल्लाको फेदाप गाउँपालिका वडा नं ४ र ५ को सिमानामा रहेको नेपालकै अग्लो ह्यात्रुङ झरनामा पानी सुकेको छ । झरनामा खसिरहेको पानी आसपासका वनमा रहेका अलैँची बगानमा सिँचाइका लागि लगिएपछि झरना पानीविहीन बनेको छ । झरना हेर्न र रमाउनका लागि पुगेकाहरु अहिले निराश भएर फर्कने गरेका छन् ।

ह्यातुङ भनिने ३ सय ६५ मिटर अग्लो उक्त झरनाको अस्तित्व खतरामा परेको विषयमा विभिन्न समयमा चर्चा हुने गरेपनि झरनाको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुगेको छैन । झरनाको अस्तित्व नै वर्षेनी पानी सुकेर संकटमा पर्दै गएको छ । हिउँद लागेपछि झरनामा पानी सुकेको फेदाप गाउँपालिका–४ का वडाध्यक्ष नवीन चोङ्वाङले बताए ।

झरना आसपासमा रहेको अलैँची बगानमा सिँचाइका लागि स्थानीयवासीले पानी लगेपछि झरना पानीविहीन बनेको हो । झरनामा पानी ल्याएर लगाउने विषयमा छलफल भइरहेको वडाध्यक्ष चोङ्वाङले बताए । “झरना पूर्णरुपमा सुकिहाल्ने अवस्था त हैन, तर आसपासमा सिँचाइका लागि पानी लगिएपछि अहिले झरनामा पानी खसेको छैन” उनले भने ।

दक्षिण एशियाकै आकर्षक र अग्लो यो झरनामा आवश्यक पूर्वाधार विकास र प्रचारप्रसारमा लगानी गर्न राज्यले उदासीनता देखाउँदा अस्तित्व नै मेटिने खतरा बढेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

झरनाको अवलोकन र भ्रमणका लागि झरनामा पुग्दा पानी पूर्णरुपमा सुकेको देखेपछि आफू चकित परेको फेदाप गाउँपालिका–२, ओयाक्जुङका दीपक थाम्देनले बताए । उनले भने, “काठमाडौंबाट साथीहरु आएका थिए, घुमाउन झरनासम्म लिएर पुगेँ, तर पानी नै थिएन ।” झरनाको संरक्षणमा लाग्नुपर्ने स्थानीयवासीले नै अलिअलि भएको पानी पनि कुलोमार्फत सिँचाइका लागि लगेपछि झरना पानीविहीन बनेको उनले बताए ।

झरनाको संरक्षण गरेर प्रचारप्रसार गर्न सके यहाँसम्म पर्यटकको ओहोरदोहोर बढ्न सक्ने सम्भावना उच्च छ । तर त्यसतर्फ कसैले पनि ध्यान नदिएको स्थानीयवासी गुनासो गर्छन् । “अहिलेलाई झरनाबाट आम्दानी केही छैन, त्यसले पनि स्थानीयवासीले झरनाको संरचनामा चासो देखाएका छैनन्” वडाध्यक्ष चोङ्वाङले भने । उनले झरना संरक्षणका लागि स्थानीयवासीमा चेतनाको अभाव रहेको बताए ।

झरना आसपास रहेको बस्तीमा होमस्टे सञ्चालनको सम्भावना उच्च छ । त्यसका लागि आवश्यक तालीम, छलफल र होमस्टे सञ्चालनका लागि आवश्यक पूर्व तयारीमा लाग्न छलफल शुरु भएको छ । तर झरनाको संरक्षण हुन नसक्दा हिउँद लागेसंगै क्रमशः झरनामा पानीको मात्रा पूर्णरुपमा सुकेको वडाध्यक्ष चोङ्वाङ बताउछन् ।

अधिकार सम्पन्न भनिएको स्थानीय सरकार गठन भएको यतिका महिना बिते पनि फेदाप गाउँपालिकाले झरनाको संरक्षणका लागि ठोस कदम चाल्न सकेको छैन । झरनाको विकासका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष हरि चोङ्वाङले बताए ।

उनले भने, “गाउँपालिकाले पर्यटनतर्फको ठूलो बजेट झरनाका लागि छुट्याएको छ, झरनामा पानी लगाएर भए पनि खसाल्ने र पर्यटक आकर्षित गर्ने योजना छ” उनले भने । स्थानीयवासीमा चेतना अभावका कारण झरनाको रेखदेख र संरक्षणमा ध्यान नपुगेको भन्दै गाउँपालिका अध्यक्ष चोङ्वाङले त्यसका लागि गाउँपालिकाले पहल गर्ने बताए ।

गाउँपालिकाले झरनाको विकासका लागि छुट्याएको बजेट खर्च भएको छैन । तर झरना भने पानीविहीन भएको छ । उपभोक्ता समिति गठन गरेर काम गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ । झरनामा पानी खसालेर आवश्यक पूर्वाधार निर्माण गर्नेतर्फ योजना बनिरहेको अध्यक्ष चोङ्वाङले बताए ।
रासस

प्रकाशित मिति : १६ बैशाख २०७५, आइतबार ००:००