Logo

विप्रेषणसंगै गाउँमा विकास भित्रियो



१६ वैशाख, बाबियाचौर– म्याग्दी ।
रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशिएका रघुगंगा गाउँपालिका–१ बेगका बासिन्दाले गाउँमा करोडौँको विकास भित्र्याएका छन् । देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले विदेशिएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सको अलावा गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् ।

प्रवासीको पहलमा बेगमा करोडौँ लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडाध्यक्ष बिलबहादुर फगामीले बताए । देशका विभिन्न शहर र विदेशमा पुगेका बेगखोलावासीले बेगखोला कल्याणकारी समाज गठन गरी गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् ।

पोखरा, काठमाडौ, बेलायत, हङकङ, जापान, कोरिया, अमेरिका, कतार, बहराईन, सिंगापुरलगायतका देश विदेशमा पुगेका बेगका बासिन्दा समाजमा आबद्ध छन् । समाजको पहलमा १ करोड २५ लाख जुटाएर विसं २०७० मा छ किलोमिटर दूरीको बेगखोला–देउराली नमूना हरित सडक र पाँच किलोमिटर दूरीको तिप्ल्याङ–बादुक भिसी मार्ग निर्माण भएको वडाध्यक्ष फगामीले बताए ।

प्रवासी र स्थानीयवासीको पहलमा बेग देउरालीमा सभाहलसहितको सामुदायिक भवनसमेत निर्माण भएको छ । उक्त भवनको भित्ता बेगखोला–देउराली र तिप्ल्याङ–बादुक सडक निर्माणमा सहयोग गर्ने चन्दादाताको नामसहितको शिलालेखले भरिएको छ ।

बेगको तिप्ल्याङस्थित कालिका आधारभूत विद्यालयमा स्व भिसी पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा विसं २०६८ मा १० कोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो । विसं २०७२ मा बेलायतको ह्यान्डस टुगेडर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँच कोठे भवन निर्माण भएको थियो ।

बेगखोला युवा क्लबको पहलमा विसं २०७३ मा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको १४ लाख ३४ हजारको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो ।

हरेक वर्ष आफ्नो जन्मथलोको विकासका लागि कुनै न कुनै अभियान सञ्चालन गर्दै आएको समाजले यस वर्ष बेगस्थित महादेव माविको भवन पुनःनिर्माण अभियान सञ्चालन गरेको छ । विसं २०२५ मा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण बनेपछि समाजको अगुवाइमा शुरु भएको अभियानका क्रममा १ करोड ३३ लाख सहयोगको घोषणा भएको समाजका अध्यक्ष योगकुमार फगामीले बताए ।

कक्षा १० सम्म पठनपाठन हुने १७० जना विद्यार्थी अध्ययनरत विद्यालयमा यसअघि प्रवासी पूर्व विद्यार्थीले ३२ लाखको विभिन्न अक्षयकोष स्थापना गरेका छन् । कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि छुट्टाछुट्टै अक्षयकोष रहेका छन् ।

ग्रामीण क्षेत्रमा रहेको विद्यालयको भौतिक, शैक्षिक विकासमा पूर्व विद्यार्थीको सहयोग प्रभावकारी बनेको प्रअ धनबहादुर फगामीले बताए ।
रासस

प्रतिक्रिया दिनुहोस्