१५ वैशाख, तुलसीपुर– दाङ ।
तुलसीपुर उपमहानगरपालिकाले उपमहानगरभित्र खरको छानो भएका घरमा बस्ने अतिविपन्न परिवारहरुलाई निःशुल्क जस्तापाता वितरण गर्न शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका–१ को भ्युडर सोनपुर गाउँबाट जस्तापाता वितरण शुरु गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र उपप्रमुख माया आचार्यले संयुक्तरुपमा सो वडाका खरको छानो भएका गरिब तथा अतिविपन्न परिवारलाई जस्तापाता वितरण गरेर अभियानको शुरुवात गरेका हुन् ।
सो कार्यक्रममा प्रमुख पाण्डेयले आफुले निर्वाचनको समयमा खरको छानो भएका अतिविपन्न परिवारको घरमा जस्तापाता दिने प्रतिबद्धता गरेको र सोहीअनुसार वितरण गर्न शुरु गरेको बताए ।
उनले यस वर्ष नगरपालिकाका विभिन्न वडामा रहेका ५०० अतिविपन्न घरपरिवारलाई जस्तापाता वितरण गर्ने लक्ष्य रहेको बताए । शनिबार सो वडाका अतिविपन्न २० घरलाई जस्तापाता निःशुल्क रुपमा प्रदान गरिएको थियो ।
रासस
प्रतिक्रिया