१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयसम्बन्धी अभिलेख उपलब्ध गराउन महानगरकाे आग्रह



१५ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिका, शिक्षा विभागले ‘शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय’ काठमाडौंलाई विद्यालय व्यवस्थापन सम्बन्धी अभिलेख हस्तान्तरण गर्न आग्रह गरेको छ ।

विभागका प्रमुख प्रल्हाद अर्यालले एकाइ कार्यालयलाई पत्र पठाउँदै काममा सहज बनाइदिनका लागि विद्यालयका व्यवस्थापन सम्बन्धी सबै अभिलेख हस्तान्तरण गर्न आग्रह गरेका छन् । उनले जिल्लाको माध्यमिक सम्मको शिक्षाको काम संविधानअनुसार स्थानीय तहमा गर्ने भएकाले अहिलेसम्म कुनै अभिलेख नआउँदा काम गर्न समस्या परेको बताए ।

उनले पटक पटक तत्कालीन जिल्ला शिक्षा कार्यालयसंग अनुरोध गर्दा पनि हस्तान्तरण नगरेकाले पुनः एकाइ कार्यालयमा रुपान्तरण भएको कार्यालयलाई हस्तान्तरण गर्नका लागि पत्र लेखिएको जानकारी दिए ।

“हामीलाई संविधानले माध्यमिक तह सम्मको काम गर्ने अधिकार दिएको छ” उनले भने, “तर अभिलेख नहुँदा काममा समस्या परेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारीले हस्तान्तरण नगरेको हुनाले पुनः पत्राचार गरेका हौँ ।”

यस्तै उपसचिव अर्यालले महानगरमा भवन अभाव भएकाले एकाइ कार्यालयमा नै कार्यालय स्थापना गर्नका लागि कोठासहित आवश्यक फर्निचर उपलब्ध गराउन आग्रह गरेका छन् । अभिलेख अन्यत्र लैजानुभन्दा त्यही भवनमा राख्दा सजिलो हुने भएकाले १ फ्ल्याट सहित फर्निचर १ हप्ताभित्र उपलब्ध गराउन आग्रह गरिएको अर्यालले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार ००:००