१ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको २ गाउँपालिकामा अझै इन्जिनियर पुगेनन्

लेखक स्थानीय खबर १३ बैशाख २०७५, बिहिबार २ मिनेट पढाइ

१३ वैशाख, खोटाङ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर आएका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर नआएका हुन् ।

दुई गाउँपालिकामा अहिलेसम्म इन्जिनियर नआएपछि पुनःनिर्माणका लागि नक्सा र प्राविधिक सल्लाह नपाउँदा भूकम्पपीडित अन्योलमा परेका छन् । जिल्लाका केही पीडितले भने बिना नक्सा र प्राविधिक सल्लाहमा घर पुनःनिर्माण गरिरहेका छन् ।

गाउँपालिकामा इन्जिनियर नआएपछि पटक–पटक खबर गर्दासमेत प्राधिकरणले चासो नदिएको पालिका प्रमुखको गुनासो छ । गाउँपालिकामा खटिएका इन्जिनियरहरु भौगोलिक विकटता लगायतका बहाना बनाएर बसेको स्रोतको दाबी छ ।

जिल्लाका आठ हजार ४४३ घर भूकम्पपीडितमध्ये अहिलेसम्म आठ हजार १५१ घर पीडित परिवारले मात्र पहिलो किस्ताबापतको रकम पाएका छन् । पुनःनिर्माण प्राधिकरणबाट करीब वर्ष दिनअघि पहिलो किस्ताबापतको रकम आए पनि अहिलेसम्म २९२ घर पीडित परिवारले रकम पाएका छैनन् ।

कागजपत्र नमिलेको तथा सम्झौता गर्न बाँकी परिवारलाई पहिलो किस्ताबापतको रकम दिन बाँकी रहेको प्राधिकरणका सम्पर्क व्यक्ति एवं निमित्त समन्वय अधिकारी रविकिरण आचार्यले बताए । पहिलो किस्ताका लागि प्रतिपरिवार ५० हजारका दरले ४२ करोड २१ लाख ५० हजार रकम आएको थियो ।

भत्किएको घर पुनःनिर्माण र दोस्रो किस्ता वितरणका लागि प्राधिकरणले चासो नदिएको स्रोतको दाबी छ । जिल्लामा पुनःनिर्माण प्राधिकरणको कार्यालय सञ्चालनका लागि भाडामा घर लिए पनि अहिलेसम्म सञ्चालन भएको छैन ।
रासस

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।