८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरपालिकाद्वारा विभिन्न ऐन, कार्यविधि र नियमावली निर्माण



११ वैशाख, कैलाली ।
धनगढी उपमहानगरपालिकाले विभिन्न २० वटा ऐन, कार्यविधि र नियममावली निर्माण गरेको छ । उपमहानगरपालिका कार्यालयद्वारा भए गरेका कार्य प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संविधानले दिएका अधिकार प्रयोग गरी चालु आर्थिक वर्ष २०७४÷७५ को हालसम्म विभिन्न २० वटा ऐन, कार्यविधि र नियममावली निर्माण गरेको जनाएको छ ।

नगरसभाबाट स्वीकृत भई कार्यान्वयनमा आएका ऐनहरुमा नगर शिक्षा ऐन २०७४, फोहर व्यवस्थापन ऐन २०७४, कृषि व्यवसाय ऐन २०७४, आर्थिक कार्यविधि तथा व्यवस्थित गर्न बनेको ऐन २०७४, सार्वजनिक निजी साझेदारी ऐन २०७४, न्यायिक समिति कार्यविधि सम्बन्ध ऐन २०७४, सहकारी ऐन २०७४ रहेको उपमहानगरपालिकाले जनाइएको छ ।

यसैगरी उपमहानगर कार्यालयले नगर कार्यपालिकाले पदाधिकारीको आचारसंहिता २०७४, नगरसभा सञ्चालन कार्यविधि २०७४, बैठक सञ्चालनसम्बन्धी बनेको कार्यविधि २०७४, उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यसम्पादन नियमावली २०७४, कार्यविभाजन २०७४, नगरपालिकाको कार्यालयका कर्मचारीको आचारसंहिता सम्बन्धी विनियमावलि २०७४, आर्थिक सहायता कार्यविधि २०७४, एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४, ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजत कार्यविधि २०७४, ज्येष्ठ नागरिक परिचयपत्र प्रमाण वितरण निर्देशिका २०७४ लगायतका कार्यविधि एवं नियमावली बनाई कार्यान्वयनमा ल्याएको छ ।

नगरसभाबाट स्वीकृत भएका ७ वटा ऐन र १३ वटा निर्देशिका कार्यविधि कार्यपालिकाबाट स्वीकृत भई राजपत्रमा प्रकाशन गरिसकिएको छ । संविधानको अनुसूची आठले स्थानीय तहले प्रयोग गर्ने गरी २२ वटा एकल अधिकार सूचीबद्ध गरेको उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै नेपाल सरकार मन्त्रिपरिषदले यी एकल अधिकारको विस्तृतीकरण गरी स्थानीय तहबाट सम्पादन गर्नुपर्ने कामको समेत किटानी गरेको छ ।

पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत भरतमणि पाण्डेयले उपमहानगरपालिकाले संविधानले दिएको अधिकारको प्रयोग गरी आफूलाई चाहिने आवश्यक कानूनको निर्माणमा गति दिँदै नगरपालिकाका काम–कारबाहीलाई खुला र पारदर्शी बनाउन प्राथमिकता दिएको बताए ।

कार्यालयको प्रगति विवरणमा अधिकांश वडा कार्यालय सम्बन्धित वडास्तरमा नै स्थापना गरी सेवाग्राहीलाई सेवा प्रवाह सञ्चालन गरिएको, उपमहानगर क्षेत्रमा निर्माण गरिने विभिन्न योजनामध्ये हालसम्म २२६ योजनाको निर्माण सम्पन्न भएको उल्लेख छ । यस्तै हालसम्म उपमहानगर क्षेत्रमा झण्डै साढे ७ किमी कालोपत्र सडक र साढे ५३ किमी ग्रभेल सडक निर्माण लगायतका काम भएको जानाइएको छ ।

सो अवसरमा नगरप्रमुख नृपबहादुर वडले प्रदेश नं ७ मा सबैभन्दा छिटो कानून बनाउनेमा धनगढी उपमहानगरपालिका सफल भएको उल्लेख गर्दै उपमहानगरपालिकालाई विकासको गतिमा दौडाउन गुरुयोजना बनाई अघि बढ्ने बताए ।
रासस

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलबार ००:००