११ वैशाख, बनियानी– झापा ।
झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिए ।
उनका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई अनुदानमा थोपा सिँचाइ प्रविधि उपलब्ध गराउने तयारी भइरहेको छ । “विशेष गरी तरकारी उत्पादन गरिरहेका किसानलाई लक्षित गरेर यो प्रविधि भित्र्याउन लागिएको हो” उनले भने, “यसको परीक्षण प्रदर्शनी पनि गरिसकेका छौँ ।”
किसानलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ६० प्रतिशत अनुदान र किसानको ४० प्रतिशत लागत सहभागितामा यो प्रविधि उपलब्ध गराइने भट्टराईले जानकारी दिए ।
यो प्रविधि सौर्य ऊर्जामार्फत पानी तानेर ट्याङ्कीमा जम्मा गर्ने र प्लाष्टिक पाइपको माध्यमले प्रत्येक बिरुवामा थोपा सिँचाइ गरिन्छ । हाल यो क्षेत्रका किसानले बोरिङबाट सिँचाइ गर्दै आएका छन् ।
रासस
प्रतिक्रिया