९ वैशाख, मर्स्याङ्दी– लमजुङ ।
मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका विद्यालयमा शैक्षिक सुधार अभियान शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिका अन्तर्गतका विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेकाले टिच फर नेपाल (टिएफएन)को सहकार्यमा शैक्षिक सुधारका लागि २५ बुँदे घोषणापत्र तयार गरी अघि बढेको बताए ।
टिएफएनले पहिलो चरणमा ८ माध्यमिक विद्यालयमा २–२ स्वयंसेवक शिक्षक (फेलो) पठाएको छ । अंग्रेजी, गणित र विज्ञान विषयका तालीमप्राप्त १६ शिक्षक विद्यालयमा पुगिसकेका छन् ।
विद्यालय तहको शिक्षामा देखिएको असमानता बढ्दै गएपछि टिएफएनले उक्त अभियानको परिकल्पना गरेको संस्थाले जनाएको छ ।
टिएफएनले यस वर्ष लमजुङसहित दाङ र पर्साका ५१ विद्यालयमा अभियान सञ्चालन गरेको जनाएको संस्थाका प्रशासन तथा लजिपष्टक प्रमुख लोचन पौडेलले जानकारी दिए ।
तेत्तीस फेलोबाट शुरू भएको अभियान मार्फत अहिले १ सय ११ युवा स्वयम्सेवी शिक्षक अध्यापनरत छन् । स्वयम्सेवक शिक्षकको ५० प्रतिशत तलब संस्थाले दिनेछ भने बाँकी ५० प्रतिशतको ६० प्रतिशत गाउँपालिका र ४० प्रतिशत सम्बन्धित विद्यालयले दिनेछन् ।
रासस
प्रतिक्रिया