५ वैशाख, विराटनगर ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए ।
मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै कर्मचारीले खटाएको कार्यालयमा गई जनताको सेवा गर्नुपर्नेमा जोड दिए । उनले दक्ष र अनुभवी कर्मचारीको सहयोगबाट नै मुलुकको आर्थिक समृद्धिको अभियानमा सफल हुने बताए ।
मन्त्री पण्डितले स्थानीय निकायमा कर्मचारीको कमीका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको बताउँदै दक्ष र अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिने पक्षमा सरकार नभएको स्पष्ट पार्नुभयो ।
उनले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका १ हजार २५० कर्मचारी निवृत्तीभरण भइसकेको जानकारी दिए ।
रासस
प्रतिक्रिया