५ वैशाख, कैलाली ।
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा उनले भने, “विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ र यसमा सबैको सहयोग आवश्यक छ ।”
मुख्यमन्त्री भट्टले भर्ना अभियानलाई प्रभावकारी बनाउन उनले आफ्नी छोरीलाई कक्षा ८ मा भर्ना गरेका हुन् । यसअघि उनकी छोरी डोटीको केआइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन् ।
मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गर्दै शिक्षक, कर्मचारी लगायत उच्च ओहोदाका व्यक्तिहरुले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने बताउका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुगेका मुख्यमन्त्री भट्टले आज बिहान आफ्नी छोरीसहित अन्य ११ जना बालबालिकालाई उक्त विद्यालयमा भर्ना गराए । देशभरि वैशाख २ बाट शुरु गरिएको विद्यालय भर्ना अभियान यस प्रदेशमा पनि जारी छ ।
रासस
प्रतिक्रिया