२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक दल र उम्मेदवारसँग कुनै साँठगाँठ नगर्नुस् – प्रमुख निर्वाचन आयुक्त



काठमाडौँ, २८ चैत । स्थानीय तहको निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि मुलुकका सात स्थानमा आज एकैसाथ निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षण तालिम सुरु भएको छ ।

निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्याय, सरकारी वकिल र प्रशासन सेवाका उपसचिवलाई निर्वाचन अधिकृत तोकेको छ ।

मुख्य निर्वाचन अधिकृत ७५ तथा ६६९ जना निर्वाचन अधिकृतका लागि विराटनगर, सिन्धुली, धुलिखेल, पोखरा, हेटौँडा, सुर्खेत र धनगढीमा बेग्ला–बेग्लै दुईदिने प्रशिक्षण सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रशिक्षणपछि मुख्य निर्वाचन र निर्वाचन अधिकृतले मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ४२ हजारलाई यस्तैखाले प्रशिक्षण तालिम प्रदान गर्नेछन् ।

नेपालको संविधानअनुरुप स्थानीय सरकार निर्माणका लागि हुन लागेको पहिलो निर्वाचन मुलुकका चार महानगरपालिका, १३ उपनगरपालिका, २४६ नगरपालिका तथा ४८१ गाउँपालिकामा एकै समय र चरणमा हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उक्त प्रशिक्षण तालिममा आज धुलिखेलमा उद्घाटन गर्दै समग्र मुलुक निर्वाचनमय बन्दै गएको बताए ।

उनले भने– “राजनीतिक असन्तुलनको वातावरण सन्तुलित हुँदै गएको छ, मुलुकभर शान्ति सुरक्षाको वातावरण अनुकूल छ, त्यसैले निर्वाचनमा खटिने कर्मचारी र मतदाताले डराउनुपर्ने अवस्था छैन ।”

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचनको जिम्मेवारी पूरा गर्न तटस्थ रहेर काम गर्न निर्देशन दिँदै उनले भने “कुनै पनि उम्मेदवार र राजनीतिक दलसंग साँठगाँठ नगर्नुहोला, निर्वाचनका लागि जारी भएको आचारसंहिताको परिधिमा कर्तव्यपालन गर्नुहोला ।”

निर्वाचनको सन्दर्भमा वैदेशिक सहयोगको निर्भरतालाई कम गर्दै आन्तरिक खर्च व्यवस्थापनमा मितव्ययी गर्ने आयोगको स्पष्ट नीति रहेको बताउँदै प्रमुख आयुक्त डा यादवले संविधान कार्यान्वयको पहिलो खुड्किलोका रुपमा रहेको स्थानीय तहको निर्वाचनमा मतदान गरेर लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई स्थायित्व प्रदान र सुदृढ तुल्याउने अभियानमा जुट्न आह्वान गरे ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले स्थानीय सरकार गठनका लागि हुन लागेको निर्वाचनमा एकमतको महत्वबारे जिल्लाका मतदातालाई प्रशिक्षित तुल्याउने काम भइरहेको जनाउँदै यो निर्वाचन गाउँमा राजनीतिक दलका उम्मेदवारबीच इज्जत र प्रतिष्ठाको लडाइँका रुपमा हेरिने भएकाले त्यसैअनुरुपको सुरक्षा व्यवस्था मिलाइने बताए ।

उच्च सरकारी वकिल कार्यालय पाटनका सह–न्यायाधीवक्ता नारायणप्रसाद पौडेलले निर्वाचनमा खटिने कर्मचारीको निष्पक्षताले निर्वाचन आयोगको निष्पक्षता प्रतिविम्वित गर्ने भएकाले राज्यले सुम्पिएको जिम्मेवारीलाई सहज रुपमा स्वीकारी निर्वाचनको महाअभियानमा समाहित हुन आग्रह गरे ।

निर्वाचन आयोगका सह–सचिव नवराज ढकालले मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्रको काम कार्यतालिका अनुसार नै घनिभूत रुपमा अघि बढिरहेको जानकारी दिए ।

उक्त तालिममा यस क्षेत्रका दोलखा, रामेछाप, काभ्रे, रसुवा, नुवाकोट, रसुवा, धादिङ, रौतहट, ललितपुर र काठमाण्डैं जिल्लाका १०९ जनाको सहभागिता छ । रासस

प्रकाशित मिति : २८ चैत्र २०७३, सोमबार ००:००