२७ बैशाख २०८१, बिहिबार | Thu May 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा दुई लाख २७ हजार सात सय ५९ मतदाता



स्थानीय तहको निर्वाचनका लागि जिल्लाको ८ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकामा समेत गरी जिल्लाभर कूल दुई लाख २७ हजार ७५९ मतदाता छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाको १२ वडामा २७ हजार ६६७ र हेटौँडा उपमहानगरपालिका क्षेत्रको १९ वडामा ८३ हजार ५९७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार ८ गाउँपालिकामा कूल १ लाख १६ हजार ८९५ मतदाता छन् ।

जिल्लाभर ३ सय ७ वटा मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।थाहा नगरपालिकामा ३९, हेटौँडामा ७ मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागी करिब २ हजार कर्मचारी परिचालन गर्न तयारी भएको छ ।

यसैगरि धनुषा, महोत्तरी, सर्लाही र मकवानपुरका निर्वाचन अधिकृतहरूका लागि २८ देखि चैत ३१ गतेसम्म हेटौँडामा सञ्चालन हुने निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले बताए ।

यसैगरी मकवानपुरका सबै क्षेत्रमा निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक परिचालन गर्ने केही दिनअघि दुई दिवसीय मतदाता शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचनलक्षित सुरक्षाका लागी अति संवेदनशील मतदान केन्द्रमा थप सुरक्षा खटाउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्माले बताए ।

२२ दल दर्ता

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मकवानपुरमा पुराना ११ र नयाँ ११ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नयाँ दल दर्तातर्फ नयाँ शक्ति पार्टी, चुरे भावर एकता पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, गान्धीवादी पार्टी नेपाल, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, नेकपा (माले जनसमाजवादी), राष्ट्रिय जनमुक्ति पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेसन पार्टी र देशभक्त समाज पार्टी रहेका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने पुराना पार्टीमध्ये नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (माले), सङ्घीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय मधेस समाजवादी पार्टी, सद्भाावना पार्टी, राष्ट्रिय जनमोर्चा र जनजागरण पार्टी नेपाल रहेको जिल्ला निर्वाचन अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति : २७ चैत्र २०७३, आइतबार ००:००