६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीका जनप्रतिनिधि कानून सिक्दै



१४ चैत, बाबियाचौर– म्याग्दी ।
कानूनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भएपछि म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिले निर्वाचित कानूनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् ।

स्थानीय तहले जनप्रतिनिधिको क्षमता विकासका लागि तालीम सञ्चालन गरेका छन् । निर्वाचित भएको १० महिना बिते पनि सार्वजनिक सेवा प्रवाह, नीति र विकास निर्माणको क्षेत्रमा अपेक्षाकृत काम गर्न नसकेको भनेर आलोचना खेपीरहेका म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि यति बेला कानूनी ज्ञान हासिलमा जुटेका हुन् ।

नयाँ संरचना र व्यवस्थाअनुसार काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई पूर्वाधार र जनशक्ति मात्र नभएर कानून, ऐन, नियम र कार्यविधिको बारेमा पर्याप्त ज्ञानको अभावले अलमल भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी बताए । धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले पनी केही विकास योजना र वडाले प्रवाह गर्ने नियमित सेवाबाहेक उल्लेख्य काम गर्न नसकेको बताइन् ।

बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा र धौलागिरि गाउँपालिकाले पदाधिकारी, कार्यपालिका सदस्य लगायत वडासदस्य र कर्मचारीलाई तीन दिनको तालीम सञ्चालन गरेका छन् । मंगला र मालिकाएकै ठाउँमा राखेर तीन गाउँपालिकाले पनी जनप्रतिनिधिको क्षमता विकासका लागि तालीम सञ्चालन गर्ने कार्यक्रम बनाएका छन् ।

स्थानीय तहको सेवा प्रवाह, विकास गतिविधि, कानून, योजना निर्माणदेखि आर्थिक स्रोतको पहिचान र परिचालनका लागि जनप्रतिनिधि र कर्मचारीबीच एकरुपता कायम गर्न तालीम सञ्चालन गरिएको रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईले उल्लेख गरे ।

जनप्रतिनिधि र कर्मचारीबीच कानूनको विषयमा बुझाइमा एकरुपता नहुँदा काम गर्न कठिनाइ हुनाका साथै कतिपय ठाउँमा अधिकार क्षेत्रको विषयमा द्वन्द्व सिर्जना भएको छ । तालीममा सहभागी भएपछि योजना तर्जुमा, कार्यान्वयन, स्थानीय तहले बनाउनुपर्ने ऐन नियम, आर्थिक वित्तीय प्रणाली, काम, कर्तव्य र अधिकारको बारेमा स्पष्ट भएको रघुगंगा गाउँपालिका ३ पिप्लेका वडाध्यक्ष जीवन मल्लको भनाइ छ । स्थानीय तहले एउटा तालीम सञ्चालनका लागि न्यूनतम पाँचदेखि दश लाख लगानी गरेका छन् ।
रासस

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ००:००