१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बच्चा जन्माउन उक्साएको भन्दै इलाम नगरपालिकाको विरोध



१४ चैत, मंगलबारे– इलाम ।
इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघ लगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् ।

नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने महिलालाई बढी रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

यो निर्णय महिलाका लागि स्वीकार्य नहुने महिला संघले पत्रकार सम्मेलनमा जानकारी गराएको हो । महिला संघ, इलामका अध्यक्ष निर्मला सञ्जेलले भने, “महिलालाई बच्चा जन्माउने मेसिन मात्र नसम्झन हामी नगरपालिकालाई आग्रह गर्छौं ।”

यस निर्णयले गरीबलाई अझ गरीब बनाउने, अशिक्षितको संख्या वृद्धि हुने महिला संघको भनाइ छ । नगरपालिकाका प्रमुख पुरुष भएकाले यस्तो निर्णय भएको भन्दै महिलालाई होच्याउने कार्य भएको महिला संघको ठहर छ ।

नगरमा भौतिक पूर्वाधार, सडक, स्वच्छ र पर्याप्त पिउने पानीको अभाव, स्वास्थ्य शिक्षा, व्यवस्थित बसोबास लगायतका कुरामा इलाम नगरपालिका कमजोर भएका अवस्थामा यस्तो निर्णय गरिनु लज्जास्पद भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा महिला संघ इलामका अध्यक्ष निर्मला सञ्जेल र सचिव बबिता लिङ्दमले हस्ताक्षर गरेका छन् ।

यो निर्णय सात दिनभित्र नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ । यस निर्णयको सार्वजनिक सञ्जालमा समेत चर्को आलोचना हुँदै आएको छ ।
रासस

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ००:००