१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० वर्ष नाघेका ३२५ भाडाका सवारी साधनमा प्रतिबन्ध



१२ चैत, भीमदत्तनगर ।
चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसंगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ ।

यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिए । उनले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसंगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाइएको बताए ।

प्रतिबन्धित सवारी साधनमाथि निगरानी बढाउन अनुगमन टोली समेत गठन गरिएको छ । गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारीधनीलाई निर्देशन समेत दिइएको थियो ।

“ट्राफिक प्रहरीसंग प्रतिबन्ध लगाउन समन्वय गरेका छौँ,” भट्टले भने, “अनुगमन समितिले पनि जाँच गर्दैछ ।” पुराना सवारी साधनले वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको यातायात कार्यालयले जनाएको छ ।

प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १२४, ट्रक १०६, मिनीबस तीन, टिपर १० र एक–एक वटा कन्टेनर तथा मिनीट्रक रहेका छन् । त्यस्तै ट्र्याक्टर १३, जिप ५२ र १५ टेम्पो गुड्न नपाउने भएका छन् । बीस वर्ष पुराना सवारी साधन गुडाएको पाइए कारवाहीको दायरामा ल्याइने भट्टले बताए ।
रासस

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ००:००