६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ वर्षको अवसरमा घुम्टे लेकमा ‘गुराँस उत्सव’ हुने



९ चैत, बागलुङ ।
नयाँ वर्ष २०७५ को अवसरमा गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा ‘गुराँस उत्सव’ हुने भएको छ । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव यही चैत ३० र वैशाख १ गते चल्नेछ ।

तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टेमा विगत पाँच वर्षदेखि ‘गुराँस उत्सव’ आयोजना हुँदै आएको छ । घुम्टेको पर्यटन प्रवर्द्धन र लालीगुराँस संरक्षणको सन्देश दिन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए ।

केन्द्रले घुम्टेलाई ‘गुराँसको पहाड’ घोषणा गर्न र वैशाख १ गतेलाई ‘राष्ट्रिय लालीगुराँस दिवस’ घोषणा गर्न सरकारसंग माग गर्दै आएको छ । धार्मिक, प्राकृतिक तथा जैविक हिसाबले महत्वपूर्ण घुम्टे लेकको पर्यटकीय विकास र प्रवर्द्धनका लागि गुराँस उत्सवले टेवा पुग्ने ठानिएको छ ।

“घुम्टेमा गुराँस फुल्ने याममा पर्यटकको आकर्षण बढाउन गुराँस उत्सव गर्ने गरिएको छ” अध्यक्ष बस्नेतले भने, “घुम्टेको पर्यटन विकास र प्रवर्द्धनमा उत्सवले टेवा पुग्ने हाम्रो विश्वास छ ।” घुम्टेको धुरीमै पाँच वर्षअघि मैत्रीपूर्ण पर्यटन भेला आयोजना गरेको केन्द्रले त्यसयता लगातार गुराँस उत्सव गर्दै आएको छ ।

उत्सवका अवसरमा अवलोकन यात्रा, कला–संस्कृतिको प्रदर्शनी, सूर्यास्त र सूर्योदयको अवलोकन, झण्डोत्तोलन, ‘क्याम्प फायर’, मुख्य समारोह लगायतका कार्यक्रमको आयोजना गरिएको छ ।

चैत मसान्तमा घुम्टे चढ्नेहरु उक्त दिन घुम्टेको लेकमै रात बिताएर नयाँ वर्षलाई स्वागत गरी तल झर्नेछन् । सो अवसरमा घुम्टे चढ्ने पर्यटकलाई त्यहाँ अवस्थित प्रसिद्ध सिद्ध र भैरवको मन्दिरमा पूजाआजाको समेत अवसर पाउनेछन् ।

उत्सवमा सोरठी, सालैजो, यानीमाया, घुम्टे साइला जस्ता मौलिक संस्कृति झल्कने गीत, नृत्य तथा झाँकीको प्रदर्शनी राखिएको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले जानकारी दिए ।

“नयाँ वर्षलाई घुम्टेको लेकमा मनाउने अवसर पनि हो यो” वरिष्ठ उपाध्यक्ष थापाले भने । चैत–वैशाखमा घना वन क्षेत्रमा फुल्ने विभिन्नथरिका गुराँसले घुम्टेको लेक राताम्मे हुने गरेको छ । केन्द्रले घुम्टेलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने, संरक्षित वन क्षेत्र बनाउने र जडीबुटीको अध्ययन केन्द्र बनाउने योजना अघि सारेको छ ।

यस्तै, मन्दिरको स्तरीकरण गर्ने, पदमार्गलाई गुणस्तरीय बनाउने र पर्यटनसंग सम्बन्धित पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि लिइएको छ ।

पर्यटन मन्त्रालयको आर्थिक सहयोग र स्थानीयवासीको जनश्रमदानमा घुम्टेसम्म जाने छ किलोमिटर पदमार्ग निर्माण भइसकेको छ । मन्दिर लगायतका पूर्वाधारको विकास र स्तरोन्नतिको काम पनि अघि बढेको छ । जिल्लाको मध्यभागमा अवस्थित घुम्टेमा वर्षेनी वैशाखे पूर्णिमाको अवसरमा ठूलो मेला लाग्ने गर्छ ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००