२२ फागुन, काठमाडौं ।
दुई महानगरपालिका अझै प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । वीरगञ्ज र विराटनगर महानगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट कामकारवाही भइरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत रवीन्द्र थापाले बताए ।
महानगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत हुनका लागि सहसचिवको व्यवस्था भए पनि ती दुईमा भने प्रमुख प्रशासकीय अधिकृत उपसचिव तहका छन् । मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयसंग ती दुई महानगरका लागि पटक पटक सहसचिव माग गरे पनि पाउन सकेको छैन ।
विराटनगरमा उपसचिव प्रदीपकुमार निरौला र वीरगञ्जमा गोपालप्रसाद रेग्मीले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।
पहिले उपमहानगरपालिका रहेका ती दुई लाई स्तरोन्नति गरेर महानगर बनाइएदेखि नै उपसचिव प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् । शाखा अधिकृत थापाले ती २ महानगरमा सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको बताए ।
उपमहानगर र नगरपालिकामा भने उपसचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था गरिएको छ । काठमाडौँमा धनीराम शर्मा, ललितपुरमा हरिप्रसाद दाहाल, चितवनमा प्रेमराज जोशी, पोखरामा दीर्घनारायण पौडेल सहसचिव तहका प्रमुख प्रशासकीय अधिकृत छन् ।
रासस




प्रतिक्रिया