१३ फागुन, भक्तपुर ।
वाग्मती नदीको सहायक भक्तपुरको हनुमन्ते खोलाको सरसफाइ अभियान शुरु हुने भएको छ । मध्यपुरथिमिको चाणक्य कलेजमा सांसद, स्थानीय तहका पदाधिकारी, सरोकारयुक्त निकाय र विभिन्न संघसंस्थाका प्रतिनिधिको भेलाले आगामी शनिबार अर्थात् फागुन १९ गतेदेखि हरेक शनिबार नियमित रुपमा सरसफाइ गर्ने निर्णय गरेको प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले बताए ।
सांसद बस्नेत र वाग्मती सफाइ अभियानकर्मीको पहलमा भएको भेलाले सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको संयोजकत्वमा हनुमन्ते खोला सफाइ अभियान मूल समिति निर्माण गरेको छ । मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी उपसंयोजक रहेको उक्त समितिमा भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाका वडाध्यक्ष सदस्य रहने छन् । प्रत्येक वडाका वडाध्यक्ष उपसमितिको संयोजक रहने र आआफ्नो वडामा उपसमिति गठन गर्दै अभियानमा सहभागिता जनाइने निर्णय भएको छ ।
हनुमन्ते खोला अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिकाको सिमानामा पर्ने ताथली जोड्ने पुल र ललितपुरको टीकाथली पुलसम्म सरसफाइ हुनेभएको छ । ललितपुरको सहभागिता गराउनका लागि महालक्ष्मी नगरपालिकाका प्रमुखसँग समन्वय गर्न र स्थानीयवासीलाई परिचालन गर्न स्थानीयवासी एवं चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई जिम्मेवारी दिइएको छ ।
आगामी शनिबार मध्यपुरथिमिको कौशलटार र सूर्यविनायकको बालकोट जोड्ने पुलबाट उद्घाटन गरी सफाइ अभियान शुरु गरिने पूर्वमन्त्री बस्नेतले बताए । उनले भने, “पहिलो सातामा कौशलटार बालकोटबाट सफाइ अभियान शुरु भए पनि दोस्रो सातादेखि भने तीन वटै नगरपालिकाले आ–आफ्नो नगरक्षेत्रमा परिचालन गरी भक्तपुरको ब्रह्मायणीदेखि ललितपुरको टीकाथली जोड्ने पुलसम्म सफाइ गर्नेछन्, यो अभियान शनिबार बिहान निरन्तर चल्नेछ ।”
हनुमन्ते सफाइका लागि भेलाका सहभागिबाटै नगद तथा जिन्सी गरी १ लाख संकलन भएको अभियानकर्मी रुद्र पौडेलले जानकारी दिए । संकलित रकम सफाइका लागि आवश्यक पर्ने डोको, पञ्जा, बुट, मास्क लगायत सामग्री खरिदमा लगाइने छ ।
शुरुको दिन आवश्यक पर्ने पञ्जा एवं मास्क बालकोट सहकारी संस्थाले प्रदान गर्ने सहकारीका सञ्चालक एवं सफाइ अभियानकर्मी जयराज पौडेल र विजया शर्मा कोइरालाले बताए । आ–आफ्ना जन्मदिन, विवाहोत्सव लगायत खुशीका अवसरमा हनुमन्ते सफाइमा सहयोग गर्न आह्वान गरिएको छ ।
भक्तपुरका प्रजिअ द्रोण पोखरेलले सुरक्षा निकायदेखि जिल्लामा रहेका विभिन्न संघसंस्थालाई अभियानमा सहभागिता गराउनुपर्नेमा जोड दिए । अधिकारसम्पन्न वाग्मती एकीकृत विकास आयोजनाका प्रमुख नरेन्द्रराज बस्नेतले वाग्मती सफाइ २५० हप्तामा पुगेको बताउँदै वाग्मतीको सहायक नदीको सफाइ नभएसम्म वाग्मती सफाइ नहुँने बताए ।
रासस


प्रतिक्रिया