१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचौँ नुवाकोट महोत्सवमा प्याराग्लाइडिङ पनि, तयारी अन्तिम चरणमा



११ फागुन, नुवाकोट ।
नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार पत्रकार सम्मेलनमार्फत आवश्यक तयारी पूरा भएको र केही व्यवस्थापनको काम मात्र पूरा हुन बाँकी रहेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा प्रदेश नं ३ स्तरीय अवलोकनकर्ता सहभागी गराउन लागिएकाले यहाँको कृषि उब्जनीको बिक्री एवं कला, संस्कृति, पर्यटन तथा धार्मिकस्थलको प्रवर्द्धन गराउन प्राथमिकता दिन लागिएको छ ।

एघार दिनसम्म चल्ने महोत्सवमा २७५ स्टल समावेश हुने प्रचारप्रसार समितिका संयोजक सन्तोष उप्रेतीले बताए । “कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनका सामग्रीको बिक्री एवं प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइएको छ,” उप्रेतीले भने ।

उनले भने, “यसअघि सञ्चालित महोत्सवका कमजोरी सच्याउँदै अहिलेको महोत्सव उत्कृष्ट बनाउन नुवाकोटको पहिचान रहेको त्रिशूलीको कान्छी बदाम, शिखरबेँसीको चामल, ककनीको ट्राउट माछा र स्ट्रबेरी, किस्पाङको भूईस्याउको प्रदर्शनी तथा बिक्रीको व्यवस्था मिलाएका छौँ ।”

‘समृद्ध नुवाकोट, हाम्रो अठोट’ भन्ने नारासहित सञ्चालन हुन लागेको पाँचाैँ नुवाकोट महोत्सव नाफाभन्दा पनि सेवामूलक र जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउन केन्द्रित गराइने आयोजकको दाबी छ ।

महोत्सवलाई आकर्षक बनाउन र स्थानीय संस्कृति र धार्मिक स्थलको सम्बर्द्धन गराउन गोरु जुधाइ, त्रिशूली नदीमा ¥याफ्टिङ, साततले दरबार परिसरबाट प्याराग्लाइडिङ, जिल्लाको मुख्य–मुख्य स्थानसहित गणेश हिमाल हुँदै गोसाइँकुण्डसम्म हेलिकप्टर भ्रमण तथा हात्ती सफारीको समेत व्यवस्था मिलाएको आयोजकले जनाएका छन् ।
रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ००:००