१८ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु नगरपालिकाकाे आयोजनामा प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु



८ फागुन, जितपुर– कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ ।

फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताका विजेतालाई नगद २५ हजार र उपविजेता टोलीलाई नगद २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका– ३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।

प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने जनाइएको छ । युवालाई कुलतबाट बचाउन तथा शारीरिक सुगठनका लागि सचेत बनाउने उद्देश्यका साथ मेयर कपको आयोजना गरिएको प्रतियोगिताका संयोजक गैरेले जानकारी दिए ।

नगर प्रमुख किरण सिंहले यस वर्षबाट शुरु गरिएको मेयर कपलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । एक कार्यक्रमका बीच सोमबार तौलिहवाको बुद्धपद्धम माविको खेल मैदानमा नगरपालिकाका प्रमुख किरण सिंह, पूर्व राजदूत दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री सुरेन्द्रराज आचार्य र संघीय संसद्का सांसद अतहर कमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गरेका हन् ।

प्रतियोगिताको उद्घाटनपछि मन्तव्य दिँदै पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगरले शुरु गरेको मेयर कपले युवालाई सिर्जनशील बन्न सहयोग पु¥याउने बताए ।

पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपालले क्रिकेटसहितका खेलमा विश्वमै आफ्नो प्रदर्शनलाई सुधार गर्दै गएको बेला जिल्लामा समेत यस्ता खेललाई प्राथमिकता दिनुपर्ने बताए । सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा क्रिकेट संघकी माया ज्ञवालीले मन्तव्य दिइन् ।

सुपर सिक्समा गौतम बुद्ध विजयी

कपिलवस्तुको तौलिहवामा आयोजित पहिलो दिनको टि ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता रोमाञ्चक प्रतिष्पर्धाका बीच सुपर सिक्समा गौतमबुद्ध क्रिकेट क्लबले एक रनले जितेको छ ।

प्रतियोगिताको पहिलो इनिङमा गौतमबुद्धले १८ ओभर ३ बलमा अल आउट हुँदै ९६ रन जोडेको थियो । गौतमबुद्धका खेलाडी विश्वास ढकालले सर्वाधिक २० रन जोडेका थिए भने बलिङतर्फ जयबुद्धका परवेज अन्सारी र अखलाख आलमले समान तीन–तीन विकेट लिएका थिए ।

खेलको दोस्रो इनिङमा जयबुद्धले २० ओभरमा आठ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । जयबुद्धका अमिर अहमदले सर्वाधिक ३८ रन बनाए भने गौतमबुद्धका कलिम खानले तीन विकेट लिएका थिए ।

दुवै टोलीबीच बराबरी स्कोर भएपछि सुपर सिक्सबाट प्रतियोगिताको नतिजा निकालिएको थियो । सुपर सिक्समा पहिले ब्याटिङ गरेको जयबुद्धले छ रन बनाउँदा गौतमबुद्धले एक ओभरमा सात रन बनाई प्रतियोगिताको पहिलो खेल जितेको थियो । प्रतियोगितामा कलिम खान म्यान अफ द म्याच भए ।
रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलबार ००:००