१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक सरंचना संरक्षणमा जुटे स्थानीयवासी



२९ माघ, डडेल्धुरा ।
ऐतिहासिक सरंचना सरक्षणका लागि जिल्लाका बासिन्दा आफैं जुटेका छन् । द्वापरयुगको इतिहास बोकेको धार्मिकस्थल शिवकुटीको संरक्षण र संवर्द्धनका लागि अमरगढी नगरपालिका– ७ का बासिन्दा जुटेका हुन् ।

सदरमुकाम नजिकै अमरगढी– ७ पोखरामा शिवकुटीसँगै ऐतिहासिक र धार्मिक रावलतोली गुफा रहेको छ । शिवकुटीसँगै रहेको रावलतोली गुफाको छुट्टै ऐतिहासिक र धार्मिक महत्व छ । उक्त गुफाबाट उग्रतारा मन्दिर र शैलेश्वरी (शल्लागाढ) र समैजीमा रहेको कोला समैजी मन्दिरसम्म धामीदेवता कामेर जाने गरेको किम्वदन्ती रहेको पण्डित कालीप्रसाद भट्टले बताए ।

विभिन्न पर्वमा रावलतोली गुफा भएर धामी मन्दिरमा जाने जनविश्वास छ । स्थानीयवासीले भगवान शिवको पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने विश्वास छ । मन्दिर र पवित्र धार्मिक स्थलको उचित संरक्षण र संवम्वर्धन हुन सकेको छैन । अमरगढीको साथै पोखरा बजार नजिकै उग्रतारा माविसँगै जोडिएको शिवकुटी र रावलतोली गुफा संरक्षण, प्रवर्द्धनका लागि राजनीतिक दलका अगुवा एवं सरोकारवाला निकायले चासो नदिँदा जीर्ण हुनुका साथै अस्तित्व नै मेटिने खतरा छ ।

प्रदेश नं ७ कै प्रशिद्ध धार्मिकस्थल उग्रतारा भगवती मन्दिरको गुठी जमिनमा शिवकुटी र रावलतोली गुफा रहेको भए पनि पछिल्लो समय गुठी जमिन दिनानु दिन अतिक्रमण हुँदै गएको छ । स्थानीयवासी संरक्षणमा लागिपरेका छन् । धार्मिक तथा ऐतिहासिकस्थल संरक्षणका लागि स्थानीयवासीले बारम्बार आवाज उठाए पनि सम्बन्धित निकाय, संघ, संस्था एवं राजनीतिक दलका अगुवाले चासो नदिँदा अस्तित्व नै गुम्ने खतारामा पुगेको स्थानीयवासी समाजसेवी दुर्लव झकालले बताए ।

हाल आएर स्थानीयवासीले क्षेत्र विकास समिति गठन र दर्ता गरी आफैँ संरक्षण र संवर्द्धनमा जुटेको रावलतोली शिवकुटी गुफा क्षेत्र विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर सार्कीले बताए । यस वर्षको महाशिवरात्रि धुमधामसँग मनाउन भगवान शिव, पार्वती, गणेशको मूर्ति तथा साँढे र शिवलिंगको निर्माणकार्य भइसकेको सार्कीले बताए ।

गत वर्ष शिवकुटी र रावलतोली जोड्ने सडक निर्माण गरी उग्रतारा मन्दिरसम्म जोडिएको बाटोलाई फराकिलो पारिएको थियो । अहिले शिवकुटीमा भगवान शिव, पार्वती, गणेशको मूर्ति तथा साँढे र शिवलिंग निर्माण गरिएको स्थानीयवासी पुस्कर भण्डारीले बताए । बन्द भएको गुफालाई खोल्ने कार्यमा जुट्ने उनको भनाइ छ ।

शिवकुटी, रावलतोली गुफा संरक्षण संवर्द्धनका लागि यसवर्ष स्थानीय तहले २ लाख रकम विनियोजन गरेको छ । अहिले पनि अमरगढी– ६, ७ र ८ का घरधुरीबाट मासिक रुपमा अन्न र चन्दा संकलन गरिरहेको समितिका सदस्य हरि खड्काले बताए ।
रासस

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार ००:००