१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरमा चर्पी नहुनेलार्इ सरकारी सुविधाबाट वञ्चित गरिने



२२ माघ, वीरगञ्ज ।
पश्चिमी पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नराख्ने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ ।

गाउँपालिकाले तीन दिन भित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका सिफारिश रोक्ने र जरिवाना समेत गर्ने उर्दी गरेको गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले बताए ।

सो गाउँपालिका–५ मा ८ हजार जनसंख्या छ भने उक्त वडामा ९० प्रतिशत घरमा शौचालय भएपनि १० प्रतिशतले शौचालय राख्न आनाकानी गरेपछि गाउँपालिकाले यस्तो कदम चालेको हो ।

आउँदो चैत महिनासम्ममा पूरै गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिंदै अध्यक्ष श्रीलाल साह कानुले चर्पी नबनाउनेलाई सामाजिक तथा आर्थिक जरिवाना गर्ने भएकाले सबैले धमाधम चर्पी बनाउन थालेको बताए ।

शुरुमा चेतनाको कमीका कारण गाउँका मानिस खुला चौरमा दिसापिसाब गर्ने गदथे तर अब गाउँपालिकाले कडाइ गर्न थालेपछि सबैले आ–आफ्ना घरमा चर्पी राख्न थालेको वडा नं ५ की बदरुनेसा खातुन बताउछिन् ।

चर्पी बनाउन गाउँपालिकाले चर्पीका लागि आवश्यक पर्ने सिट लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । गाउँपालिका दिसामुक्त क्षेत्रका लागि घर घरमा २०७० सालदेखि विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेकाले गाउँपालिकाले कडाइ गरेको हो ।

वडा नं १ देखि ५ सम्म रहेको सो गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जनाइएको छ । गाउँपालिकाले तीन दिनभित्र शौचालय राख्न उर्दी जारी गरेकाले वडा नं ५ का बासिन्दाले धमाधम चर्पी राख्न थालेका छन् ।
रासस

प्रकाशित मिति : २२ माघ २०७४, सोमबार ००:००