६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनपटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी भवन



१९ माघ, जितपुर– कपिलवस्तु ।
यहाँको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन ।

यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास डिभिजन भैरहवाले श्री अर्घाखाँची÷तपेश्वरी जेभीलाई १ करोड ७६ लाख ८६ हजार २२३ मा ठेक्का दिएको थियो ।

२०७२ असार २९ देखि काम शुरु गरिएको भए पनि आजसम्म भवन निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौताअनुसार ठेकेदारले २०७३ असोज २८ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । तर ठेकेदारको लापर्बाहीले तोकिएको समयमा भवन निर्माण सम्पन्न नभएपछि पटकपटक म्याद थपिएको थियो ।

पटकपटक म्याद थप्दासमेत भवन निर्माण सम्पन्न नभएको भन्दै स्थानीयवासी तथा स्वास्थ्यकर्मी आक्रोशित बनेका छन् । सो स्वास्थ्य केन्द्रमा आउने बिरामीले समेत सास्ती भोग्नुपरेको छ ।

भवन निर्माण सम्पन्न गर्न तोकिएको समयबाहेक डेढ वर्ष नाघिसक्दासमेत भवन निर्माण अलपत्र छ । भवनभित्र झ्याल ढोका राखिएको छैन भने खानेपानी र शौचालय पनि निर्माण गरिएको छैन ।

निर्माण व्यवसायीले समयमै निर्माण कार्य पूरा नगर्दा आफूहरुले सास्ती भोग्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । भवनमा शौचालय र खानेपानीजस्ता आवश्यकीय भौतिक संरचना नबनाईदिँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।

स्वास्थ्यचौकीमा आउने सेवाग्राहीलाई शौचालय र खानेपानीको उपलब्धता नहुँदा समस्या परेको यशोधरा–वसन्तपुरका भानमती चाइले जानकारी दिए । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनका लागि प्राविधिक तथा स्वास्थ्यकर्मी खटिए पनि भवनकै कारण समस्या देखिएको छ । ल्याबका लागिसमेत ११ कर्मचारी छन् तर सेवा प्रवाहको कार्य प्रभावित बनेको छ ।

शौचालय र खानेपानीको प्रबन्ध नहुँदा बर्थिङ सेन्टर सञ्चालनको कार्य प्रभावित बनेको छ । आफूहरु एक साताकै अवधिभित्र बर्थिङ सेन्टर र सुविधा सम्पन्न ल्याब सञ्चालनको तयारीमा रहेको भए पनि शौचालय र खानेपानीको व्यवस्था नहुँदा योजना प्रभावित भएको स्वास्थ्य चौकीका सिनियर अहेब वीरेन्द्र मिश्राले बताए ।

शहरी विकास डिभिजन, भैरहवाले समयमै रकम निकासा नदिँदा निर्माण कार्य सम्पन्न गर्न नसकिएको ठेकेदार तपेश्वरी कहाँरले बताए । थपिएको म्यादअनुसार माघ मसान्तसम्म समय सीमा पाएका छौँ, उनले भने । उता सो विषयमा प्रतिक्रिया लिँदा शहरी विकास डिभिजन भैरहवाका प्रमुख सुरेश ठाकुरले समयमै रकम निकासा नदिइएको भन्ने विषयमा सत्यता नभएको बताउछन् ।
रासस

प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार ००:००