१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम तोक्न माग



१६ माघ, काठमाडैँ ।
नेपाल नगरपालिका संघले स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रम तोक्न सरकारसँग माग गरेको छ । संघको प्रदेश नं ३ स्तरीय भेलाले आठ बुँदे घोषणापत्र सार्वजनिक गर्दै चाँडै नयाँ मर्यादाक्रम बनाइ स्थानीय तहका जनप्रतिनिधिको सम्मानजनक स्थान कायम गर्न माग गरेको हो ।

घोषणापत्रमा नगरप्रमुख र उपप्रमुखको सवारी साधनमा आवागमनको सहजताका लागि चिनारी झल्कने किसिमको विशेष चिन्हको व्यवस्थापन गर्न तथा संविधानको अनुसूची ९ मा उल्लेख गरिएका प्रदेशसभासँगका १५ वटा साझा अधिकारको कानून बनाउन माग गरिएको भेला आयोजक समितिका संयोजक अशोककुमार ब्याञ्जुले जानकारी दिए ।

प्रदेशसभाको निर्वाचन भएपश्चात् पनि कानून नबन्दा काममा असहजता आएको भन्दै संविधानको अनुसूचीअनुसार कानून बनाउन माग गरिएको उनले जानकारी गराए ।

यसैगरी कर्मचारीको दरबन्दी समायोजन प्रक्रिया चाँडो गर्न र सो नहुँदासम्मका लागि करारमा कर्मचारी भर्ना गर्न तथा जिल्ला समन्वय समितिबाट उठाइरहेको राजश्व जस्तै ढुंगा, बालुवा, गिटी, मालपोत रजिष्ट्रेशन र घर बहालको कर पनि आफूले उठाउन पाउनुपर्नेसमेत माग संघले गरेको छ ।

त्यस्तै घोषणापत्रमा विषयगत कार्यालयबाट हस्तान्तरण गर्न भनिएका चलअचल सम्पत्ति पनि चाँडै हस्तान्तरण गर्न पनि माग गरिएको संयोजक ब्याञ्जुले बताए ।

भेलाले संघको ३ नं प्रदेशको साधारणसभाका लागि दोलखा भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीको संयोजकत्वमा प्रदेशस्तरीय समिति गठन गरिएको छ ।
रासस

प्रकाशित मिति : १६ माघ २०७४, मंगलबार ००:००