१५ माघ, भद्रपुर ।
भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारभित्रको फोहरको उचित व्यवस्थापन हुन नसक्दा आसपासका जनतालाई समस्या भएको छ । लगभग ४ दशक अघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।
कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापनका लागि भौत्तिक संरचना निर्माण गर्न कारागार विभागसँग २२ लाख रकम मागिएकामा अहिलेसम्म नआएकाले फोहर व्यवस्थापन गर्न कठिनाइ भइरहेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिए ।
कारागारबाट मलमूत्र बाहेक दैनिक तीन हजार लिटर फोहर पानी निस्कने भएकाले त्यसको व्यवस्थापन गर्न स्थानीय समुदायले विगतदेखि जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसँग हारगुहार गर्दा पनि केही नलागेको स्थानीयवासी भीष्मराज भट्टराईले जानकारी दिए ।
कारागार क्षेत्रमा जाडोको मौसमभन्दा पनि गर्मीमा दुर्गन्ध निकै फैलिने, कारागारभित्रको फोहर पानी त्यही वरिपरि फैलिने भएकाले सधैँ दुर्गन्ध र फोहरसंग जुधिरहनु पर्ने अर्का स्थानीयवासी खड्ग न्यौपानेले बताए ।
नजिकै रहेको प्रज्ञा एकेडेमी विद्यालयका शिक्षक द्रोण अधिकारीले पनि निजीस्तरले त गर्न सकेन तर सरकारी मातहातमा रहेको यस्तो संस्थालाई व्यवस्थित गर्न जनताले सडकमा आगो नै बाल्नु पर्ने, आन्दोलन नै गर्नु पर्ने अवस्था आएको बताए ।
स्थानीय जनताको दुःख र समस्या देखेर विभागसँग रकम मागेको पनि निकै लामो समय भइसक्यो तर समयमा रकम नआउने तर फोहर कारागारबाट निरन्तर आइरहने भएकाले समस्या भएको कारागार प्रमुख निरौलाले बताए ।
रासस

प्रतिक्रिया