२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गरिने’



१५ माघ, काठमाडौं ।
आपूर्ति मन्त्री जयन्त चन्दले खाद्य पदार्थमा मिसावट र कालोबजारी रोक्न सरकारले कडा कानूनको ल्याउन लागेको बताएका छन् ।

सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘मूल्यवृद्धि र बजार अनुगमनको अवस्था’ विषयको अन्तरक्रियामा उनले कडा कानूनको अभावमा खाद्यान्नमा मिसावट र कालोबजारी मौलाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्न मन्त्रालयले कडा कानूनको मस्यौदा तयार गरिरहेको बताए ।

मुलुकमा लामो समयदेखि कानूनी राज्यको अवधारणा स्थापित हुन नसकेको भन्दै उनले उपभोक्ताका अधिकार स्थापित गराउन सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्न लागिएको जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले घटनास्थलमै दोषीमाथि कारबाही गर्ने कानून नहुँदा कालोबजारी र मूल्यवृद्धि नियन्त्रणमा कठिनाई भएको बताए । उनले मूल्यवृद्धि सन्तुलन मिलाउन र उपभोक्ताको हक अधिकारलाई स्थापित गराउन सम्पूर्ण सरोकारवाला पक्षको सहयोग आवश्यक रहेको धारणा राखे ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले बजारमा देखिएका बेथितिलाई कारबाही गर्न नसक्दा मूल्यवृद्धि र कालोबजारी नियन्त्रण हुन नसकेको बताए । उनले खाद्य पदार्थमा नियन्त्रण गर्न नसक्दा उपभोक्ताले गुणस्तरहीन खाद्य पदार्थ उपभोग गरिरहेको बताए ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक रवि पौडेल, साल्ट ट्रेडिङ कर्पोरेशन नेपालका ब्रजेशकुमार झा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईं लगायतले उपभोग्य वस्तुमा देखिएको मिसावटलाई नियन्त्रण गर्नुपर्ने बताए ।
रासस

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ००:००