१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकाबाट २४ मेट्रिक टन फोहर व्यवस्थापन



१३ माघ, काठमाडौं ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २४ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४६औँ हप्तामा शंखमूल दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो ।

सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०७औँ हप्तामा हनुमानघाट र गोठाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

रुद्रमती सफाइको २०२ हप्तामा मैतीदेवी मन्दिर–सेतोपुल–रुद्रनगर टोलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

विष्णुमती सफाइको १७४औँ हप्तामा तारकेश्वर नगरपालिका–१० मनमैँजु पुलमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियन्ता बिजेन्द्र लामाले बताए । सफाइका क्रममा निजी विद्यालयले सडकको दायाँबायाँ रहेका खम्बामा झुन्ड्याएका भर्ना खुल्यो भन्ने ब्यानर हटाइएको उनले जानकारी दिए ।

चक्रपथ सफाइको ४२औँ हप्तामा सुकेधारा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको पनि सहभागिता थियो । सडकमा फालिएका मोबाइल रिचार्ज गरेका कार्ड र सूर्तीको खोल पनि हटाइएको अभियन्ता लोकबहादुर टण्डनले बताए ।

वाग्मतीको तिलगंगा क्षेत्र, मीनभवन क्षेत्रको आलोकनगर र चक्रपथको बाफलखण्डमा पनि आज जनचेतनामूलक सफाइ अभियान चलाइएको सफाइ महाअभियानले जनाएको छ ।
रासस

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार ००:००