८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाविस सचिव भन्छन्– गाउँपालिका कार्यान्वयन गर्न आतुर छौं



गाविस सचिवहरूले गाउँपालिका कार्यान्वयन गर्न आफूहरू आतुर रहेको बताएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रले सचिवहरू तयारी अवस्थामा रहेको जनाएको छ । कतिपय गाविस नगरपालिका बन्ने भएकाले आफूहरू नगरपालिकामा पनि खटिन तयार रहेको बताएका छन् ।

केन्द्रका अध्यक्ष दामोदर रिजालले सरकारले कार्यान्वयन गर्ने निर्णय गर्नेवित्तिकै आफूहरूले काम थाल्ने बताए । “गाविसलाई गाउँपालिका बनाउँदा लेटरप्याड, निशान छाप, कार्यालयको साइन बोर्ड, नागरिक बडापत्रहरू फेरेर नयाँ बनाउनु पर्छ,” रिजालले भने, “नयाँ नामबाट सिफारिस पनि गर्नुपर्छ । सरकारले गाउँपालिका र नगरपालिका कार्यान्वयन गर्ने निर्णय गर्नसाथ हामी काममा जुट्छौं ।”

दामाेदर रिजाल

संविधानले दिएको कतिपय अधिकार र जिम्मेवारी बिस्तारै कार्यान्वयन हुँदै जाने छन् । मालपोत, कृषी, पशुसेवा, नापीजस्ता बिषयगत कार्यालयहरू निर्वाचित जनप्रतिनिधी आएपछि मात्रै गाउँपालिका र नगरपालिकामातहत आउने रिजालले बताए ।

“स्थानीय चुनाव नभएसम्म संक्रमणकालीन अवस्थामा गाउँपालिका र नगरपालिका सञ्चालन गर्न हामी सक्षम छौं,” रिजालले भने, “जनप्रतिनिधी आइसके पछि संक्रमणकाल हट्छ । उनीहरूले संविधानले दिएका अधिकार उपयोग गर्ने र जिम्मेवारी बहन गर्नेछन् ।”

सरकारले ७ सय ४४ तह कार्यान्वयन गर्ने तयारी गरिरहेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थानीय तहलाई राजपत्रमा प्रकाशित गर्ने तयारी भइरहेको बताए ।

“प्रकाशित गर्नुअघि शुद्धाशुद्धि हेर्दा र राय सुझावका लागी कानुन मन्त्रालयमा पेस गर्दा एक दुई दिन लाग्छ,” अधिकारीले भने, “राजपत्रमा प्रकाशित भएपछि लागु भएको मानिन्छ । त्यसपछि संक्रमणकालीन गठन आदेश जारी गर्छौं ।”

७ सय ४४ वटै स्थानीय तहलाई छुट्टाछुट्टै पानामा चारकिल्ला स्पष्ट छुट्टिने गरि प्रकाशित गर्न लागिएको अधिकारीले बताए । सबै स्थानीय तहको वडाहरूको सीमाना पनि स्पष्ट देखिने गरि प्रकाशित हुनेछ । सबै स्थानीय तहलाई सिंगल सीटमा प्रकाशित गर्नेछ ।

चुनावको घोषणा र स्थानीय तह कार्यान्वयनको स्वागत

गाविस सचिव हकहित संरक्षण केन्द्रले स्थानीय चुनावको घोषणाको स्वागत गरेको छ । साथै स्थानीय तह कार्यान्वयनको स्वागत गर्न पनि सचिवहरू आतुर रहेको अध्यक्ष रिजालले बताए । “स्थानीय चुनावको माग राखेर विगतमा हामीले नै आन्दोलन गरेका थियौं । अहिले पुरा हुँदैछ ,” रिजालले भने, “स्थानीय तहको कार्यान्वयन गर्नु भनेको संविधान कार्यान्वयन गर्नु हो । चुनाव र स्थानीय तहको कार्यान्वयनको स्वागत गर्छौं ।”

प्रकाशित मिति : २४ फाल्गुन २०७३, मंगलबार ००:००