१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुस्रे खोलाको कटानका कारण जोखिमपूर्ण दोभिल्लाको बस्ती



वासुदेव पौडेल
२ माघ, पोखरा ।
“तल पनि गइसक्यो माथि पनि लगिसक्यो
बचाइदिनुस् जहुर नत्र हाम्रो पनि जाने बेला भइसक्यो ।
रातमा निन्द्रा छैन दुई नदीको डर छ
किनकी फुस्रे र सेती नदीको डर छ ।।
हिजोको सानो बाढीले आँगन छोयो
भोलिको ठूलो बाढीले घरै छोला ।
यस्तो जोखिमपूर्ण अवस्थामा बचाउँनतर्फ
नभए मन्त्रीज्यूको ध्यान कता होला ।।”

कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ र २३ जोड्ने दोभिल्लाको पुल र आसपासको किनारमा यसै वर्षको असार १७ गतेको बाढीसंगै फुस्रे खोलाको कटानका कारण बस्ती जोखिममा परेपछि तत्कालीन यातायात मन्त्री रमेश लेखकलाई स्थानीय समाजसेवी अशोक रायमाझीले यस्तो कविता सुनाएका थिए ।

स्थलगत निरीक्षणपछि जोखिम नियन्त्रणका लागि मन्त्री लेखकले सम्बन्धित निकायलाई निर्देशन दिए पछि शुरुका केही दिन सामान्य तारजाली भरिए पनि अन्य काम भने अघि बढ्न सकेको छैन ।

त्यसबखत कटान नियन्त्रणका लागि सडक डिभिजन कार्यालयबाट तारजालीमा ढुंगा भरेर सामान्य नियन्त्रणको प्रयास गरिए पनि अर्को वर्षात् शुरु हुन लागिसक्दा पनि संरक्षणका काम गरिएको छैन ।

प्रत्येक वर्ष सेती नदी र फुस्रे खोलाले जमिन कटान गर्नेक्रम बढिरहेका कारण दोबिल्ला र यस आसपासका बस्ती उच्च जोखिममा परेको स्थानीयवासीको गुनासो छ ।

सेती नदी र फुस्रे खोलाकाबीचमा रहेको दोबिल्ला बस्तीका करिब ६० घर, सहारा एकेडेमी, सडकको पक्की पुल, चर्च लगायतलाई प्रत्यक्ष असर पारिरहेको बताउने स्थानीयवासी क्षति नै भइसकेपछि केही काम गर्न लागे जस्तो देखाउने तर अन्य समय टुलुटुलु हेरेर बस्ने सरकारी प्रवृत्तिका कारण समस्या बढिरहेको बताउँछन् ।

फुस्रे खोलाको कटान डरलाग्दो किसिमले बढिरहेको बताउँदै समाजसेवी रायमाझीले यसतर्फ राज्यको चासो नपुग्दा स्थानीय बासिन्दा त्रासमा बाँच्न बाध्य भएको गुनासो गर्छन् । फुस्रेखोलामा राखिएको पुलबाट पोखरा हुँदै बागमारा र निर्मलपोखरी तथा स्याङ्जा तथा तनहुँका विभिन्न भाग जाने गरिन्छ ।

दोबिल्ला बचाऔँ भन्दै समयसमयमा सरकारी निकायलाई जानकारी गराउँदा पनि बस्ती जोगाउन पहल नभएको उनको भनाइ छ । लामो समयदेखि स्थानीयवासीको सक्रियता एवं पहलमा विसं २०५७ देखि सञ्चालनमा आएको दोभिल्लाको पुल सञ्चालनसँगै कास्कीका तत्कालीन सात गाविसको पोखरासँग पहुँच बढेको छ ।

दोभिल्लाको पसल सञ्चालनमा आएसंगै बागमारा र आसपासका कृषिजन्य उत्पादन सहजरुपमा पोखरा आउन थालेपछि यस क्षेत्रमा व्यावसायिक कृषिको पनि विकास भएको छ ।

पुल सञ्चालनमा आएपछि बागमारामा व्यावसायिक तरकारी खेती गर्ने क्रममा निकै वृद्धि भएको स्थानीय दिलीप अधिकारी बताउछन् । धेरै बस्तीसंग प्रत्यक्ष सरोकार राख्ने दोभिल्लाको पुल तथा यहाँको बस्ती जोखिममा परेको प्रति सरकारी निकायले तत्काल चासो देखाउनुपर्नेमा उनि जोड दिन्छन् ।

फुस्रे खोलाको कटान जोखिम नियन्त्रणका लागि सम्बन्धित विशेषज्ञलाई देखाएर नक्साङ्कन गर्नुपर्ने सडक डिभिजन कार्यालयका प्रमुख प्रेम खत्री बताउछन् । “फुस्रे खोलाको कटान नियन्त्रणका लागि बजेट विनियोजन भएको छैन,” उनी भन्छन्, “यही माघको १० ११ गतेतिर सम्बन्धित विशेषज्ञ ल्याएर देखाउने तयारी गरेका छौँ ।” फेवातालको बाँधलाई उचित व्यवस्थापन गर्नसके मात्र पनि फुस्रे खोलाको कटान नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।
रासस

प्रकाशित मिति : २ माघ २०७४, मंगलबार ००:००