१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिफ्ट प्रविधिबाट अब म्याग्दी नदीको पानी खबरामा



कमल खत्री
२८ पुस, म्याग्दी ।
बेनी नगरपालिका २ खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा आएको छ । राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकम समेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो ।

तरकारी खेतीको पकेट क्षेत्र खबरामा “लिफ्ट” प्रविधिको आयोजनामार्फत हाँडेभिरस्थित म्याग्दी नदीको किनारबाट पानी तानेर सिँचाइ सुविधा पु¥याइएको हो ।

सो आयोजनाको गएको आइतबार प्रतिनिधिसभाका सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गरेको हो । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट तरकारी खेतीमा आबद्ध स्थानीय कृषकलाई राहत मिलेको छ ।

कूल १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयले दश लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो । त्यस्तै, ४ लाख बराबरको श्रमदान समुदायबाट गरिएको र ४ लाख रुपैयाँ ऋण खोजेर आयोजना सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए ।

अहिले लभ्ली हिलको नजिकै पु¥याइएको पानीलाई संकलन केन्द्रमार्फत दोस्रो चरणको लिफ्ट प्रविधिको सहायताले खबराका अधिकाँश सर्वसाधारणको पहुँचमा पु¥याउने योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिए । लभ्ली हिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारबाट विद्युतीय उपकरणको सहायताबाट पानी तानेर २५० मिटर माथि लभ्ली हिलको डाँडामा पानी पु¥याइएपछि स्थानीयबासी हर्षित बनेका छन् ।

इनारदेखि पाँच सय मिटर ६० एमएमको पाइपबाट लभ्ली हिलमा पु¥याइएको पानी रिजर्भ टंकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्न २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्रविधिज्ञ कृष्ण खत्रीले बताए ।

यस आयोजनामा पानी खोल्न र बन्द गर्न मोबाइल एप्सको प्रयोग गरिएको छ । पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्समार्फत खोल्ने र बन्द गर्ने प्रविधि जडान गरिएको हो । हालै मात्रै नेपालमा भित्रिएको लिफ्ट सिँचाइको प्रयोजनका लागि लिफ्टिङ आयोजनामा मोबाइलमार्फत पानी खोल्ने र बन्द गर्ने प्रविधि धौलागिरिमै पहिलो रहेको प्रविधिज्ञ खत्रीको दाबी छ ।

मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेन्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुने भएकाले उपभोक्ताहरुलाई यो प्रविधि बढी लाभदायी हुने विश्वास गरिएको छ । अहिले लभ्ली हिल नजिकै पु¥याइएको पानीलाई दारिमपाटासम्म पु¥याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ ।

ब्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकहरुले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पु¥याउन सफल भएका हुन् ।

फेदीको पानी डाँडामा पुग्दा कृषकहरु समेत दंग छन् । बेनी बजार नजिकै रहेको यस गाउँमा लिफ्ट प्रविधि मार्फत सिँचाइ पुगेपछि यहाँका कृषकहरुले तरकारी खेतीतर्फ थप उत्साहित भएर लाग्ने प्रतिकृया दिएका छन् ।

जिल्लाका अन्य धेरै क्षेत्रमा सिँचाइको मार खेपेका कृषकहरुको लागि पनि गाउँदेखि तल भएर बग्ने खोलाहरुबाट पानी तानेर सिँचाइ गर्ने लिफ्टिङ प्रविधि उपयोगी बन्ने देखिएको छ ।
रासस

प्रकाशित मिति : २८ पुस २०७४, शुक्रबार ००:००