५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु



अजितकुमार झा
२८ पुस, इनरुवा ।
सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रवर्द्धनको विषयमा लामो समयदेखि चर्चा चले पनि त्यो व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको थिएन । यो विषय चर्चामा मात्रै सीमित थियो ।

तर अब स्थानीय सरकार बनेपछि बल्ल उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको छ । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु गरेको धरान उपमहानगरपालिकाका प्रेस संयोजक योगेश बाबु काफ्लेले जानकारी दिए ।

पदमार्ग अध्ययन टोलीले धरान–४ वसन्तटारस्थित अग्र्यानिक गाउँदेखि दानाबारी गढी थुम्की हुँदै सेर्गेसम्म स्थानीयवासीसंग छलफल गर्दै अध्ययन गरेको छ । दानाबारी, हर्दियादेखि सेर्गे गाउँ हुँदै नाम्जेको बीचमा इको ट्र्याक र क्यानोनिङका लागि उपयुक्त स्थल पनि फेला पारेको पर्यटन प्रवर्द्धन समिति, धरानका सदस्य लेखमणि जिमीले बताए ।

दानाबारी पछिल्लो समयमा धरानेका लागि हाइकिङ ९पदयात्रा० को गन्तव्य बन्दै गएको छ । यहाँको भ्यू प्वाइन्टबाट मौसम खुल्दा धरानका साथै तराईको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ ।

यो पदमार्गमा दानाबारी सम्मको एक दिनको हाइकिङ गर्न सकिन्छ भने दुई दिन एक रात वा तीन दिन दुई रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ । पदमार्गमा पहिचान भएका क्षेत्रमा पर्यटन सम्बन्धि सचेतना कार्यक्रमसहित भौतिक संरचना निर्माण गरिने पर्यटन प्रवर्द्धन समितिका सहसंयोजक किशोर थुलुङले बताए ।

पर्यटन प्रवर्द्धन समितिले गन्तव्यस्थलको पहिचान र साहसिक खेल प्रवर्द्धन गर्ने कार्ययोजना बनाएर अघि बढ्न सके धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास संगै पर्यटन व्यवसायलाई आर्थिक स्रोतको मूल आधार बनाउन सकिनेमा कुनै दुई मत देखिँदैन ।

त्यसैले धरान उपमहानगरपालिकाले थालेको कामलाई प्रचारका लागि प्रचार मात्र नगरी यसलाई अन्तिम रुप दिन जरुरी देखिन्छ ।
रासस

प्रकाशित मिति : २८ पुस २०७४, शुक्रबार ००:००