१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन



२० पुस, रत्ननगर– चितवन ।
खैनी, सूर्ती, गुड्खाका कारण मानव स्वास्थ्यमा समेत असर हुने र यत्रतत्र फोहर देखिने गरेको भन्दै स्थानीयवासीले गुड्खामुक्त गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेका छन् ।

भरतपुर महानगरपालिकाको भोलि शुक्रबार हुन लागेको नगरपरिषद्बाट उक्त अभियान घोषणाको माग गर्दै स्थानीयवासीले आज भरतपुरमा प्रदर्शन गर्दै दबाब ¥यालीसमेत निकालेका हुन् ।

फेसबुकबाट गठित ‘वे ग्रुप’ नामक संस्थाको संयोजना तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा नगरपालिका अगाडि प्लेकार्डसहित स्थानीयवासीले प्रदर्शन समेत गरे ।

सरसफाइ अभियानमा लागेका अभियन्ता भोजनारायण कँडेलले प्लास्टिकजन्य फोहरमध्ये गुड्खा खाएर जथाभावी फ्याँकिने गरेकाले गुड्खा प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

“सातामा एक दिन एक छिन् समाजका लागि’ भन्ने नारासहित सरसफाइ अभियान चलाउँदै आएको वे ग्रुपको नेतृत्वमा नारायणगढको लायन्सचोकबाट शुरु भएको दबाब ¥याली शहीदचोक, पुल्चोक घुमेर भरतपुर महानगरपालिका अगाडि आई सभामा परिणत भएको थियो ।

सभामा उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष राजन गौतमले गुड्खाले स्वास्थ्यमा समेत असर पार्ने भन्दै यो अभियानलाई प्रभावकारी गराउनुपर्नेमा जोड दिए । जिल्लालाई गुड्खामुक्त घोषणा नगरेसम्म आफू अभियानमा लागिरहने गौतमले बताए ।

यसअघि उक्त समूहले गुड्खामुक्त गर्न दबाबस्वरुप हस्ताक्षर अभियान चलाएर स्थानीय प्रशासनलाई समेत बुझाएको थियो । गुट्खाले मानव स्वास्थ्यमा समेत असर गर्ने भएकाले हाम्रो ध्यान यसतर्फ तानिएको भरतपुरका अर्का अभियन्ता तथा नेपालमैत्री समाज जिल्लाअध्यक्ष विरेन्द्र पौडेलले बताए ।

सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिकको फोहर अत्यधिक भएकाले यस्ता फोहर नियन्त्रण आवश्यक हुने सहभागीको भनाइ छ ।

मानव स्वास्थ्यमा असर गर्ने, जथाभावी फालिएकाले फोहर संकलन गर्न पनि गाह्रो हुने र पुनः प्रयोग पनि गर्न नसकिने भएकाले गुट्खा प्रतिबन्ध गर्नुपर्ने माग गर्दै उनीहरुले नगरपालिकाको ध्यानाकर्षणसमेत गराएका थिए ।
रासस

प्रकाशित मिति : २० पुस २०७४, बिहिबार ००:००