६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरवाङमै उपचार सेवा पाएपछि सर्वसाधारणलाई राहत



सन्तोष गौतम
१९ पुस, बाबियाचौर– म्याग्दी ।
मालीका गाउँपालिका ३, रुमका हर्कमान विश्वकर्माले दायाँ हात चलाउन नसक्ने भएर थलिएका छोरा वीरबहादुरको हातको भिडियो एक्सरे गत हप्ता दरवाङ प्राथमिक उपचार केन्द्रमै गराए ।

लडेर हात भाँचिएका धौलागिरि गाउँपालिका ७ का विसन पुनको उपचार पनि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमै भयो । यसअघि रगत परीक्षणका लागि सदरमुकाम बेनी पुग्ने गरेकी निस्कोटकी रिद्धीमा पुनले पनि यसपालि सो सेवा दरवाङमै पाइन् ।

“दरवाङमै सेवा पाएपछि बेनी, पोखरा र काठमाडौँ पुग्नुपर्ने समय मात्र होइन त्यहाँ जान आउन लाग्ने खर्च पनि बचत भयो” विश्वकर्माले भने । मालीका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले सेवा विस्तार गरेपछि हर्कमान, बिसन र रिद्धीमा जस्ता म्याग्दीको पश्चिमी भेगका हजारौँ सर्वसाधारणलाई राहत मिलेको छ ।

सामान्य उपचार सेवाका लागि हजारौँ खर्च गरेर बेनी, पोखरा, काठमाडौँ, चितवन पुग्नुपर्ने स्थानीयवासीको समस्यामा कमी आएको हो । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले पछिल्लो एक वर्षयता विशेषज्ञ चिकित्सक, पर्याप्त स्वास्थ्यकर्मी र आधुनिक उपकरणको व्यवस्था गरेपछि ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्योपचार सेवामा पहुँच बढेको छ ।

सदरमुकाम बेनीदेखि २४ किलोमिटर पश्चिममा रहेको सो केन्द्रमा हाल चारजना चिकित्सकले सेवा दिइरहेका छन् । हाडजोर्नी विशेषज्ञ डाक्टर राजेन्द्र पौडेलसहित चिकित्सक कृष्ण कँडेल, तिलक गौतम र विजय अधिकारी सेवामा खटिएका हुन् ।

केही वर्ष पहिलेसम्म हेल्थ असिस्टेन्ट, अहेब, अनमी र नर्सको भरमा केन्द्र सञ्चालन हुँदै आएको थियो । “ल्याब, एक्सरे, चिकित्सक जस्ता आधारभूत सेवा यहीँबाट दिन थालेका छौँ” प्रमुख चिकित्सक पौडेलले भने “यस क्षेत्रका बासिन्दा सामान्य उपचार सेवाका लागि सदरमुकामसम्म पुग्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो ।”

आधुनिक प्रयोगशाला, एक्सरे, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर लगायतका सेवा उपलब्ध छ । केन्द्रले आफ्नै औषधि पसल पनि सञ्चालन गरेको छ । निःशुल्क वितरण गर्नेबाहेक खरिद गर्नुपर्ने औषधि सो पसलबाट सुपथ मूल्यमा बिक्री हुन्छ ।

निजी पसलमा महँगोमा औषधि खरिद गर्नुपर्ने बाध्यता हटेको छ । धौलागिरि, मालीका, मंगलाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दा पनि यसबाट लाभान्वित भएका छन् । सेवाको गुणस्तर सुधारका लागि स्वास्थ्य मन्त्रालय र केन्द्रको आन्तरिक स्रोतबाट उपकरणको व्यवस्था मिलाइएको व्यवस्थापन समितिका अध्यक्ष हीरा पुनले बताए ।

“सेवा विस्तारसंगै उपकरण र दक्ष जनशक्तिको व्यवस्था गरेका छौँ” पुनले भने, “पूर्वाधार निर्माणमा पनि प्राथमिकता दिएका छाैँ ।” विद्युत् नभएको अवस्थामा पनि एक्सरे, ल्याब सेवा नियमित सञ्चालनका लागि सोलार जडान गरिएको छ ।

वडा कार्यालयको सहयोगमा स्वास्थ्य केन्द्रको भवनमा सभाहल पनि निर्माण भएको छ । गाउँपालिकाको सहयोगमा शवगृह निर्माणको पनि तयारी भएको वडाध्यक्ष सन्तोष सुवेदीले बताए ।
रासस

प्रकाशित मिति : १९ पुस २०७४, बुधबार ००:००