१८ पुस, काठमाडौँ ।
रानीपोखरीको पुनः निर्माण थाल्नुअघि सर्वसाधारणसंग सुझाव माग्दै उत्खनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह बनाइएको थियो ।
सोमबार पहिलो पटक बसेको उक्त समूहले सर्वसाधारणसंग पनि सुझाव मागेर थप काम गर्नुपर्ने समूहका संयोजकसमेत रहेका काठमाडौँ महानगरपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।
विवादमा रहेको रानीपोखरी पुनः निर्माणका लागि गत बिहीबार प्रताप मल्लकालीन शैलीमै बनाउने निर्णय गर्दै विज्ञ समूह निर्माण गरिएको थियो । रानीपोखरी पुनः निर्माणबारे सर्वसाधारणसंग विचार लिनका लागि मंगलबार सूचना निकालिने र सूचना पाँच दिनका लागि रहने पनि शर्माले बताए ।
विसं २०७२ को भूकम्पले पूर्ण रुपमा ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुगेको थियो । क्षतिग्रस्त पोखरी पुनः निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि कङ्क्रिट हालेको भन्दै सम्पदाविद्ले विरोध गरेपछि काम अघि बढ्न सकेको छैन ।
रासस
प्रतिक्रिया